पुस २५, सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) ले जिल्लाभरका स्थानीय तहहरूमा आन्तरिक सम्मेलनको तयारी तीव्र बनाएको छ। पार्टीको केन्द्रीय सर्कुलरअनुसार सम्मेलन सम्पन्न गर्न माओवादीले पूर्ण सक्रियता देखाएको छ।
माओवादीका जिल्ला संयोजक गोविन्द पराजुलीका अनुसार अघिल्लो सम्मेलनबाट चयन भएका पदाधिकारी र सदस्यहरूको तीनवर्षे कार्यकाल गत कात्तिकमा समाप्त भएपछि नयाँ नेतृत्व चयनका लागि सम्मेलन आयोजना गरिएको हो। आवश्यकता परेमा विधानअनुसार चुनाव गरी नेतृत्व चयन गर्ने योजना बनाइएको छ। संयोजक पराजुलीले सर्वसम्मत नेतृत्व चयन हुन नसकेमा आन्तरिक प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व चयन गर्ने तयारी भएको जानकारी दिए।
पाँचपोखरी र सुनकोशीका सम्मेलन सम्पन्न
माओवादीले २० गते पाँचपोखरी गाउँपालिकाको र बिहीबार सुनकोशी गाउँपालिकाको तेस्रो सम्मेलन सम्पन्न गरेको छ। सुनकोशीको सम्मेलनबाट अध्यक्षमा मिमबहादुर योञ्जनलाई चयन गरिएको छ। योञ्जनको नेतृत्वमा ४१ सदस्यीय कार्यसमिति गठन गरिएको छ, जसमा उपाध्यक्षमा सविना लामा, रामकाजी लामा र अर्चना खड्का, सचिवमा होमनाथ पौडेल, सह-सचिवमा प्रतिमा पराजुली दाहाल, र कोषाध्यक्षमा विरबहादुर घतानी चयन भएका छन्।
बलेफीको सम्मेलन शुक्रबार, अध्यक्ष पदमा चार आकांक्षी
माओवादीले बलेफी गाउँपालिकाको तेस्रो सम्मेलन शुक्रबार खाडीचौरमा गर्ने तयारी गरेको छ। गाउँपालिकाको अध्यक्ष पदका लागि कम्तीमा चार जनाले आकांक्षा व्यक्त गरेका छन्। नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अपनाइने सम्भावना छ। यसअघि नै निर्वाचन समिति गठन गरी जिम्मेवारी तोकिएको छ। बलेफी माओवादीको प्रभावशाली उपस्थिति रहेको गाउँपालिका हो, जहाँ समानुपातिक मतमा पनि माओवादी अग्रमोर्चामा रहेको छ।
चौतारा, लिसंखु, मेलम्ची, र बाह्रबिसेको सम्मेलन तालिका
माओवादीले पुस २७ गते चौतारा साँगाचोकगढी नगरपालिकाको सम्मेलन गर्ने तालिका सार्वजनिक गरेको छ। यस्तै, लिसंखु पाखर गाउँपालिकाको सम्मेलन पुस २८ मा आयोजना हुनेछ। जिल्लाका दुई चर्चित नगरहरू मेलम्ची र बाह्रबिसेको सम्मेलन भने माघ ५ मा हुनेछ। चौतारा र लिसंखु माओवादीले जितेका स्थानीय तहहरू हुन्, जसले सम्मेलनलाई विशेष चासोको विषय बनाएको छ।
जुगल, इन्द्रावती, हेलम्बु र त्रिपुरासुन्दरीका सम्मेलन माघमा
माओवादीले माघ ३ गते इन्द्रावती र जुगल गाउँपालिकाको सम्मेलन गर्ने तय गरेको छ। त्रिपुरासुन्दरी गाउँपालिकाको सम्मेलन माघ ११ मा आयोजना गरिनेछ। यसअघि माघ २ का लागि तय गरिएको भए पनि तयारी अभावका कारण मिति पर सारिएको हो। यस्तै, हेलम्बु गाउँपालिकाको सम्मेलनका लागि पुस २९ मा तयारी बैठक बसेर माघ ७ मा सम्मेलन सम्पन्न गर्ने माओवादीले जनाएको छ।
सबै पालिकाहरूमा माओवादी केन्द्रले आन्तरिक सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गर्ने कार्यलाई तीव्रता दिएको छ। पार्टीको यो गतिविधिले सांगठनिक पुनर्संरचनालाई थप गतिशील बनाउने विश्वास लिइएको छ।