माओवादी चौताराको अध्यक्षमा श्यामकृष्ण, लिसंखुपाखरमा होमलाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी नगर समितिको तेस्रो नगर सम्मेलन शनिबार र लिसंखुपाखर गाउँपालिकाको तेस्रो गाउँ सम्मेलन आइतबार भव्य रूपमा सम्पन्न भएको छ।

२८ पुस, सिन्धुपाल्चोक। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी नगर समितिको तेस्रो नगर सम्मेलन शनिबार र लिसंखुपाखर गाउँपालिकाको तेस्रो गाउँ सम्मेलन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्दै नेतृत्व चयन गरिएको सम्मेलनबाट चौतारा नगर समितिको अध्यक्षमा श्यामकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् भने लिसंखुपाखर गाउँपालिकामा होमलाल श्रेष्ठ सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

माओवादी केन्द्रको केन्द्रीय सर्कुलरअनुसार सम्पन्न सम्मेलनबाट चौतारा नगरमा ५० सदस्यीय र लिसंखुपाखर गाउँपालिकामा ४० सदस्यीय समिति चयन गरिएको छ। सम्मेलनमा उपस्थित प्रतिनिधिहरूले संगठनको आगामी कार्यदिशा र योजनाबारे व्यापक छलफल गरेका थिए। यसले पार्टीलाई थप सशक्त र जनमुखी बनाउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

चौतारा साँगाचोकगढी नगर समितिको नवगठित समितिमा अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, उपाध्यक्षहरू तारा देवी राना, चुडामणि नेपाल र रामकुमार लामा, सचिव रामशरण विक, सह-सचिव रवि खत्री, कोषाध्यक्ष अस्मिता विक, निर्वाचन समिति संयोजक सीता पौडेल, अनुशासन समिति संयोजक कुमार शर्मा, लेखा समिति संयोजक रामकृष्ण दंगाल रहेका छन्। ५१ सदस्यीय समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई पार्टीका नेतृत्वले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

यस्तै, लिसंखुपाखर गाउँपालिकाको नवगठित समितिमा अध्यक्ष होमलाल श्रेष्ठ, उपाध्यक्षहरू पेमा घिसिङ, राम माया तामाङ र शम्भुदोर्जे लामा, सचिव दिनेश कुमार घिसिङ, सह-सचिव स्वस्थानी नेपाली, कोषाध्यक्ष विसु तामाङ, अनुशासन समिति संयोजक पेमा योन्जन, लेखा समिति संयोजक माईला तामाङ र निर्वाचन समिति संयोजक युवराज खरेल रहेका छन्। सबै ४१ सदस्यीय कार्यसमितिलाई पनि पार्टीका नेताहरूले बधाई ज्ञापन गर्दै संगठनलाई मजबुत बनाउने कार्यमा सफलताको शुभकामना दिएका छन्।

सम्मेलन अघि भएको उद्घाटन सत्रमा गरिएको छलफलले पार्टीको रणनीतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दिशा तय गरेको छ। सहभागीहरूले संगठनको एकता र विस्तारलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। स्थानीय स्तरमा पार्टीको संगठनलाई थप मजबुत बनाउने उद्देश्यका साथ आयोजित सम्मेलनले राजनीतिक जागरण र सक्रिय सहभागितालाई प्राथमिकता दिएको छ।

चौताराको सम्मेलनअघि पार्टी उपाध्यक्ष पम्फा भुसाल, केन्द्रीय नेता एवं नगर अध्यक्ष कृष्णप्रसाद सापकोटा, जिल्ला इन्चार्ज केशब नेपाल, संघीय सांसद माधव सापकोटा सुबोध, प्रदेश सांसदहरू युवराज दुलाल र सरल सहयात्रीले सम्बोधन गरेका थिए। यसअघि बलेफी, सुनकोसी र आइतबार लिसंखुमा भएका सम्मेलनमा उल्लेखित नेताहरू साथै बागमती प्रदेशसभा सदस्य अमृता नेपाल, नेता टिएन सापकोटा, रवि सापकोटा, प्रतापसिंह तामाङलगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया