२९ पुस, सिन्धुपाल्चोक। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे आइपुगेका छन । भोलि माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने ८ औं पुरुष र ७ औं महिला राष्ट्रिय बीच भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रचण्ड आज सुकुटे आइपुगेका हुन । प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन । प्रचण्ड भोलिसम्म सिन्धुपाल्चोक रहने छन ।
यसअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल संघ, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले संयुक्त रुपमा प्रतियोगिताको आयोजना सम्बन्धी विस्तृत जानकारी दिएका थिए। प्रतियोगिताको संयोजन नेपाल भलिबल संघले गर्नेछ भने सुकुटे क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विशेष सांगीतिक कार्यक्रम पनि आयोजना गरिनेछ। प्रतियोगिताको तयारी र सहकार्य सुनिश्चित गर्न तीन संस्थाबीच औपचारिक समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो।
सुकुटे, सिन्धुपाल्चोकलाई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ। पहिलो पटक नेपालमा हुन लागेको यस प्रकारको राष्ट्रिय स्तरको बीच भलिबल प्रतियोगिताले सुकुटे क्षेत्रको पर्यटन र खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
आयोजकले प्रतियोगितालाई भव्य र सफल बनाउन सम्पूर्ण सरोकारवाला, खेलप्रेमी, राजनीतिकर्मी, जनप्रतिनिधि, स्थानीय क्लब तथा संघ–संस्थाहरूलाई सक्रिय साथ र सहयोग गर्न अपिल गरेका छन्।
सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र सिंह थापाले प्रतियोगिता सफल बनाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए। उनले सिन्धुपाल्चोकको पहिचान झल्काउने यस विशेष प्रतियोगिताले खेलकुदसँगै सुकुटे क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।