सुकेटेमा विच भलिबल उद्घाटन गर्दै प्रचण्डको उद्घोष ‘नेपालमा खेल पर्यटनलाई प्रवर्धन गर्नुपर्छ’

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो संभावना भएकाले यसलाई प्रवर्धन गरेर लैजानुपर्ने बताएका छन् ।

२ माघ, सिन्धुपाल्चोक । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो संभावना भएकाले यसलाई प्रवर्धन गरेर लैजानुपर्ने बताएका छन् ।
सिन्धुपाल्चोकको सुकुटेमा माघ १ गतेदेखि सुरु भएको सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले खेल पर्यटनमा जोड दिएका हुन् ।नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा पर्यटन विकासका लागि विश्वकै आकर्षक गन्तव्य भएको उल्लेख गर्दै उनले यसमा खेलकुदलाई जोडेर लैजान सक्नु थप महत्वपूर्ण काम हुने बताए । पर्यटकीय क्षेत्र सुकुटेमा राष्ट्रिय भलिबल सुरु हुनु खेल पर्यटनका लागि राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अन्य पर्यटकीयस्थलहरुमा पनि जहाँ जे संभावना हुन्छ, त्यसलाई अघि बढाएर लैजानुपर्नेमा जोड दिए ।

आफू तीनपटक प्रधानमन्त्री हुँदा खेल क्षेत्रको प्रवर्धनका लागि बढी नै मेहनत गरेको स्मरण गराउँदै उनले खेल देश र स्वास्थ्यका लागि भएकाले यस क्षेत्रको जति विकास गर्न सक्यो, समाज त्यति नै सभ्य, अनुशासित र जनता स्वस्थ हुँदै जाने बताए । अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता प्रवर्धन गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न पनि खेल क्षेत्रको महत्वपूर्ण भूमिका हुने धारणा राखेका थिए । उनले आफूले क्रिकेट, फूटबल, कराँते लगायतका विभिन्न विधाका खेलको प्रवर्धनलाई महत्वका साथ लिएको उल्लेख गर्दै दोस्रो पटक प्रधानमन्त्री भएको बेलामा भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गराएको स्मरण गराए । उनले यस क्षेत्रको भौतिक पूर्वाधारको विकास र राजनीतिक विकास अघि बढाउन निरन्तर मेहनत गरिरहेको जानकारी दिँदै नेपालको ब्यापारिक इतिहासमा महत्वपूर्ण रहेको तातोपानी नाका भूकम्पपछि बन्द भएको र यो अब नखुल्ने हो कि भन्ने निकै चिन्ता बढेपछि आफूले चिनियाँ राष्ट्रपतिसँग तीनपटक वार्ता गरेको जानकारी दिए । उनले चिनियाँ राष्ट्रपतिकै चासोका कारण तातोपानी नाका पूर्ण रुपमा खुल्ने अवस्थामा पुगेको बताए ।
आफूले यस क्षेत्रको विकासका लागि केही न केही भूमिका निर्वाह गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सुकुटे पुगेपछि पनि पार्टीका स्थानीय नेता र जनप्रतिनिधिहरुले बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा सरकारको चासो नदिएको गुनासो गरेपछि भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई फोन गरेर ध्यानाकर्षण गराएको र अब सडक मर्मतको काम अघि बढ्नेतिर अघि बढेको जानकारी दिए ।
उनले भने ‘हामीले पार्टी बैठकहुँदै सुरु गरेको सुकुटे पर्यटन अभियानका कारण आजसम्म आउँदा सुकुटे र सिन्धुपाल्चोकमा आन्तरिक पर्यटन प्रवर्धन नयाँ ढंगले अघि बढ्नु मेरा लागि पनि गर्वको विषय हो’– अध्यक्ष प्रचण्डले भने – ‘अहिले सुकुटे कोरिडोरकै रुपमा व्यवसायको व्यापक विकास भएको छ । अब आधिकारिक र व्यवसायिक रुपमा सुकुटेलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नुपर्छ र त्यसका लागि मेरो पूरै सहयोग हुने छ ।’
कार्यक्रममा सिन्धुपाल्चोक १ बाट संघीय सांसद माधव सापकोटा, बागमती प्रदेश सभा सदस्य सरल सहयात्रीलगायतका अन्य वक्ताहरुले सिन्धुपाल्चोकको सुकुटेलाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्न अध्यक्ष प्रचण्डले ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै खुसी व्यक्त गरेका थिए । माघ १ गते सुरु भएको विच भलिवल प्रतियोगिता ५ गते सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया