प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकमा अशोक पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन

प्रेस सेन्टर नेपाल जिल्ला समिति सिन्धुपाल्चोकको सातौँ अधिवेशनले अशोक पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

५ माघ, सिन्धुपाल्चोक। प्रेस सेन्टर नेपाल जिल्ला समिति सिन्धुपाल्चोकको सातौँ अधिवेशनले अशोक पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। शुक्रबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सालिगराम दुलाल र दिलमाया खड्का, सचिवमा निर्मल कुमार बस्नेत, सहसचिवमा युवराज गिरी र कल्पना श्रेष्ठ, तथा कोषाध्यक्षमा केशवप्रसाद अधिकारी चयन भएका छन्। निर्वाचन समितिका संयोजक जीवन श्रेष्ठका अनुसार सदस्यहरूमा मिलन तामाङ, निरुता श्रेष्ठ, अर्जुन विश्वकर्मा, रामकृष्ण पराजुली, सुवाष अर्याल र प्रेम तामाङ निर्वाचित भएका छन्।

त्यसैगरी, केन्द्रीय प्रतिनिधिमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका निवर्तमान अध्यक्ष जीवन श्रेष्ठ र दिनेश दुलाल चयन भएका छन्। प्रदेश प्रतिनिधिमा टिकाराम दाहाल, मणिशुन्दर कोइराला, दीपक खत्री र अस्मी स्याङतान चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष अशोक पराजुलीले प्रेस सेन्टर नेपालको गौरवपूर्ण विरासतलाई नयाँ कार्यसमितिले अझ उचाईमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं शुभकामना दिँदै अबको पत्रकारिता समृद्धि र विकासको पक्षमा क्रियाशील रहनुपर्ने धारणा व्यक्त गरे। उनले कृष्ण सेन इच्छुकले देखाएको पत्रकारिताको मार्गलाई जनपक्षीय पत्रकारहरूले आत्मसात् गर्नुपर्नेमा जोड दिँदै विशेष योजनासहित काम गर्न आग्रह गरे।

अधिवेशनलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्काले पत्रकारहरूले समृद्धि र समाज विकासमा योगदान पुर्‍याउन गम्भीर भएर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा प्रेस सेन्टर नेपालका उपाध्यक्ष तथा बागमती प्रदेश इञ्चार्ज लक्ष्मण खड्का, बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष धु्रव दंगाल र प्रेस चौतारी जिल्ला अध्यक्ष विदुर आचार्यले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरे।

कार्यक्रमकै क्रममा नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी नगर कमिटीका नवनिर्वाचित अध्यक्ष स्यामकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो। बन्द सत्रमा संगठनात्मक तथा आर्थिक प्रतिवेदन पारित गरिएको छ।

प्रतिक्रिया