५ माघ, सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र)का नेताहरूले माओवादीलाई कमजोर नआँक्न चेतावनी दिएका छन्। सिन्धुपाल्चोकको बाह्रविसे बजारमा आयोजित खबरदारी सभा एवं नगर अधिवेशनको उद्घाटन कार्यक्रममा ठूलो संख्यामा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै नेताहरूले यस्तो सन्देश दिएका हुन्।
‘अमर्यादित माननीय’का रूपमा पहिचान बनाएका कांग्रेसका सांसद मोहन बस्नेतको आँगन मानिने बाह्रविसेमा माओवादीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा, सोही क्षेत्रबाट निर्वाचित संघीय सांसद माधव सापकोटा, संविधानसभा सदस्य केशब नेपाल, बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री युवराज दुलाल, प्रदेश सभा सदस्य सरल सहयात्री, अमृता नेपाललगायतका नेताहरूले एक स्वरमा माओवादीलाई कमजोर आँक्ने धृष्टता नगर्न चेतावनी दिए। केही अघि माओवादी नेताहरूलाई असभ्य र अराजनीतिक गालीगलौज गरेका कांग्रेस नेता बस्नेतको नाम लिएरै नेताहरूले उक्त चुनौती दिएका हुन्।
पूर्वसभामुख अग्निप्रसाद सापकोटाले सरकारले संसद् नबोलाए विशेष अधिवेशन बोलाउने चेतावनी दिए। उनले संविधानमा २५ प्रतिशत सांसदले संसद् बोलाउन सक्ने व्यवस्था रहेको उल्लेख गर्दै सातै प्रदेशमा विशेष अधिवेशन बोलाउने तयारी भइरहेको बताए।
सापकोटाले भने, “अब बानेश्वरमा ३२ जनाले आगो बाल्नेछन्। सदन नबोलाए विपक्षी मोर्चाहरूको बैठकबाट निर्णय लिन्छौं। संविधानले २५ प्रतिशत सांसदलाई संसद् बोलाउने अधिकार दिएको छ।”
उनले सदन बोलाएको पहिलो दिन नै देशभरि आन्दोलन चर्काउने चेतावनीसमेत दिए। “हामीले सदन बोलाएपछि पहिलो दिन नै हेटौंडा, सुर्खेत, बुटवल, धनगढी लगायत सातै प्रदेशमा आगो बल्नेछ,” सापकोटाले भने।
संघीय सांसद माधव सापकोटा सुबोधले कांग्रेस सांसद मोहनबहादुर बस्नेतलाई धाकधम्कीको राजनीति छाडेर स्वस्थ प्रतिस्पर्धामा आउन चुनौती दिए। “धाक भन्दा धक्कू ठूलो भनेजस्तो तपाईंको पतनको यात्रा सुरु भइसकेको छ। ज्ञान र विवेक प्रयोग गरेर बहस गर्न आउनुस्,” सापकोटाले चेतावनी दिए।
सापकोटाले बस्नेतमाथि संसद्को सामान्य ज्ञान नभएको आरोप समेत लगाए। “कति प्रतिशत प्रतिनिधिसभामा उपस्थित हुनुभयोरु कति विधेयकमा संशोधन दर्ता गर्नुभयोरु” भन्दै उनले बस्नेतको राजनीतिक क्षमतामाथि प्रश्न उठाए। बस्नेतले मंसिरमा सापकोटा र अन्य माओवादी नेताहरूमाथि धम्कीपूर्ण भाषा प्रयोग गरेपछि सापकोटाले त्यसको जवाफस्वरूप आक्रामक शैलीमा चेतावनी दिएका हुन्।
बागमतीका पैर्व मन्त्री दुलालले माओवादी झण्डा हल्लाउँदै अख्तियार नगएको बताए । नेता सहयात्रीले काम नगर्नेको गफ बढी भएको सुनाए ।
यसैविच बाह्रविसे नगरको तेस्रो अधिवशेनबाट नयाँ नेतृत्व चयन गर्दै ५१ सदस्यीय नगर कार्य समिति निर्वाचित गरेको छ। सम्मेलनबाट ईन्द्रजित तिमल्सिना नगर अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा विमल राउत, पार्वती थामि, र दावा लामा चयन भएका छन्। पार्टी सचिवमा सविन तामाङ पाख्रिन र सहसचिवमा विकेस तामाङ निर्वाचित भएका छन्। यस्तै अनुशासन समिति संयोजकमा नगेन्द्र पौडेल लेखा समिति संयोजकमा केसव तामाङ र निर्वाचन समिति संयोजकमा हरी प्रसाद सुवेदी चयन भएका छन् ।