९ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा ‘सुबोध’ले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले परियोजनाहरूमा ‘डकैती शैली’ अपनाएको बताएका छन् ।
बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सापकोटाले ४५४ मेगावाटको किमाथांका अरुण परियोजनामा नियमविपरीत निर्णय गर्न खोजिएको बताए। उनले मन्त्री खड्काले प्रतिस्पर्धी अन्य सात कम्पनीलाई पछि हटाउन लगाएर एउटा कम्पनीलाई मात्र छनोट गर्ने काम गरेकोप्रति आपत्ति जनाए।
सापकोटाले भने, ‘जगदुल्ला हाइड्रोपावरको सन्दर्भमा मन्त्री खड्काले आठवटा निर्माण कम्पनीलाई बोलाएर, सातवटा कम्पनीलाई ब्याक हुन र एउटा कम्पनीलाई मात्र क्वालीफाई बनाउन निर्देशन दिनुभएको छ। यो पूर्णतः गलत र गैरकानूनी हो।’
सापकोटाले १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत परियोजना र ४५४ मेगावाटको किमाथांका अरुण परियोजनामा नियम उल्लंघन गरी निर्णय गर्न खोजिएको बताएका हुन् । उनले थपे, ‘डकैतीकै शैलीमा निर्णय गर्न खोजिएको यो प्रकरण देशव्यापी दबाबपछि क्यान्सिल गरिएको छ।’ मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग निहुँ खोज्दै, प्राधिकरणकै कार्यालयलाई आफ्नो कार्यकक्ष बनाएकोप्रति पनि सापकोटाले कडा आपत्ति जनाए।
सापकोटाले समितिको बैठक छलफल र परामर्शबिनै होटलमा समितिको बोलाइएकोप्रति असन्तुष्टि जनाउँदै भने, ‘सरकारले ल्याएको विधेयकमा छलफल गर्न होटल जानु आवश्यक छैन। संसद्मा नै छलफल हुनुपर्छ।’ उनले यस्ता प्रकरणले सरकारका मन्त्रीहरूको कामकारबाहीमा गम्भीर प्रश्न खडा गरेको बताए । माओवादीले संसदमा सशक्त विपक्षीका रुपमा भूमिका निर्वाह गर्दै आएको छ ।