लक्ष्मीदेवीको वार्षिकोत्सवमा विविध सम्मान, प्रमुख अतिथि सहयात्रीको प्रेरक सम्बोधन

जिल्लाको बलेफी गाउँपालीका वडा नं २ देउरालीडाँडास्थित श्री लक्ष्मीदेवी माध्यमिक विद्यालयले आफ्नो ४२औं वार्षिकोत्सव, अभिभावक दिवस तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोह भव्य रुपमा सम्पन्न गरेको छ।

१० माघ, सिन्धुपाल्चोक। जिल्लाको बलेफी गाउँपालीका वडा नं २ देउरालीडाँडास्थित श्री लक्ष्मीदेवी माध्यमिक विद्यालयले आफ्नो ४२औं वार्षिकोत्सव, अभिभावक दिवस तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोह भव्य रुपमा सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य माननीय सरल सहयात्री पौडेलले शिक्षामा अझै सुधार आवश्यक रहेको र नयाँ शिक्षा ऐनका लागि निरन्तर आवाज उठाइरहेको धारणा राखे। उनले सहि शिक्षा ग्रहण गर्न र राजनीतिमा चासो दिन नयाँ पुस्तालाई प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याए।
विशेष अतिथि बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। अतिथि उपाध्यक्ष सरु लामा तामाङले विशेषतः छोरीहरूको अध्ययनका लागि सञ्चालन गरिएका कार्यक्रमहरूको उल्लेख गर्दै लैंगिक समानताको पक्षमा शिक्षा महत्त्वपूर्ण माध्यम भएको बताइन्। अर्का अतिथि वडा अध्यक्ष छविलाल न्यौपानेले शिक्षा समाज रूपान्तरणको मुख्य आधार भएकोमा जोड दिए।
महाकाव्यकार तथा विद्यालयकापूर्व शिक्षक चन्द्रप्रसाद न्यौपानेले शिक्षामा सहि नीति र पर्याप्त लगानीको कमीप्रति चिन्ता व्यक्त गरे। पत्रकार तथा पूर्व विद्यार्थी श्रीधर न्यौपानेले वर्तमान शिक्षाले आत्मनिर्भरता निर्माण गर्न असफल भएको र केवल ऋण लिन तथा सीमित साधनमात्र उपयोग गर्न सिकाएको टिप्पणी गरे। कार्यक्रममा शिक्षक राजकुमार भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालयले महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, पत्रकार श्रीधर न्यौपाने, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू दुर्गाप्रसाद न्यौपाने, राजेन्द्र कुमार भण्डारी र राजीव हमाललगायतलाई सम्मान गरेको छ । यसैगरीकलाकार कृष्ण पौडेल, द्रोण, गत वर्षको एसईई परीक्षामा उत्कृष्ट विद्यार्थीहरू र अन्य विशिष्ट योगदानदाताहरूलाई पनि सम्मान गरिएको थियो।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक हिरालाल न्यौपानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै लेखा सहायक नवीन न्यौपानेले आर्थिक प्रतिवेदन पेस गरेका थिए भने शिक्षक खगेन्द्र हमालले कार्यक्रम सञ्चालन गरेका थिए। विशेष आकर्षणको रुपमा भद्रगोल टेलिसिरियलका कलाकार तथा निर्देशक द्रोण पौडेलको टिमले शिक्षाको महत्त्व दर्शाउने व्यंग्य नाटक प्रस्तुत गर्‍यो। विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति राख्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । विद्यालयको नाटकको निर्देशन शिक्षिका राधिका भण्डारीले गरेकी थिइन् ।
कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखाको सहकार्यमा कार्यक्रममा सहभागी ज्येष्ठ नागरिक र अभिभावकहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो। विविध सांस्कृतिक कार्यक्रमसहित आयोजित सो कार्यक्रममा विद्यालय, समुदाय र शिक्षा क्षेत्रका सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया