१९ माघ, चितवन, । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति समर्थन बढ्दै गएको र देशभरि नै ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन्।
नेकपा माओवादी केन्द्र चितवनले आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशलाई माया गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा जनताको उत्साहजनक सहभागिता देखिएको बताए। उनले हाल देशभर माओवादी केन्द्र र यसको नेतृत्वप्रति आकर्षण बढ्दो क्रममा रहेकाले आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पुर्याउने सम्भावना बलियो बनाएको दावी गरे ।
प्रचण्डले आफूले सरकारमा रहँदा सुरु गरेका नयाँ अभियानहरूप्रति कतिपय शक्तिहरू डराएको भन्दै त्यसैले आफूलाई हटाइएको स्पष्ट पारे। उनले जनताले यो वास्तविकता राम्ररी बुझेको स्पष्ट गरे । पार्टीभित्र भएका कमजोरीहरूको आत्मसमीक्षा गर्दै रुपान्तरणको प्रक्रिया अघि बढाइएको उनको भनाई थियो । उनले सरकारमा रहँदा थालिएको सुधारको प्रयास, सरकारबाट बाहिरिएपछि देशभर चलाइएको अभियान तथा सदन र सडकमा लिइएको पहलकदमीले जनतामा नयाँ आशा जागेको बताए।
अध्यक्ष प्रचण्डले लामो समयदेखि राजनीतिक आन्दोलनमा संलग्न नेताहरूको माओवादी केन्द्रमा प्रवेशले पार्टीलाई बलियो बनाउनुका साथै देशको अग्रगामी परिवर्तनमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरेका थिए । समाजसेवा, शिक्षा, खेलकुदलगायत विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वहरू पार्टीमा प्रवेश गर्दा चितवनको राजनीति र वामपन्थी आन्दोलनमा गुणात्मक परिवर्तन आउने उनले बताए।