

२० माघ, सिन्धुपाल्चोक । जिल्लाको क्षेत्र नं -१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले निर्वाचन क्षेत्रका फरक फरक चारवटा सडक स्तरोन्नतिको अनुगमन गरी समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देश गरेका छन् ।
सापकोटाले सिन्धुपाल्चोकको जिल्ला पूर्वाधार कार्यालय प्रमुख प्रकाश पौडेलसहितको प्राविधिक टोलि लिएर क्षेत्र नं १ अन्तरगतको सुनकोशी दोबाटो, सिम्ले, बुदेपा, कालिन्चोक सहिद मार्ग, मेलहुँदै डाँडाटोल, लाँकुरी चौतारी सडक, खागदल दोभान घर्तीटोल सडक, लिपिङखोला बेलीब्रिज र टुनिबोटे मिलडाँडा मांखा मानेश्वारा भैरबकुण्ड निर्वाचनक्षेत्र रणनैतिक सडकको अनुगमन गरेका हुन् ।
चर्चीत पर्यटकीय एवं धार्मिकस्थल कालिन्चोक जाने वैकल्पिक बाटोको रुपमा रहेको सुनकोशी दोबाटो, सिम्ले, बुदेपा, कालिन्चोक सहिद मार्गकोका लागि बजेट विनियोजन गराएका उनलाई अनुगमनका क्रममा स्थानीयले धन्यवाद ज्ञापन गरेका थिए । स्थानीय नेता भीम प्रसाद पराजुलीसहित सो बाटोको स्तरोन्नतिको अनुगमनमा पुगेका उनले कांग्रेस नेता मोहन बस्नेतको घर पुग्ने बाटोमा भइरहेको कामको पनि अनुगमन गरे ।
लाँकुरी चौतारी सडक, खागदल दोभान सडक बस्नेतको घरहुँदै जाने सडक हो । माओवादी नेता युवराज दुलाल प्रदेश मन्त्रीहुँदा सिन्धुपाल्चोेका माओवादी सांसदहरु सापकोटा, सरल सहयात्री र अमृता नेपालको पहलमा सो बाटोका लागि रकम विनियोजन भएको थियो । पुस १२ गते चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेमा सम्पन्न माओवादीको खबरदारी सभामा माओवादी नेताहरुले बस्नेतको घर जाने बाटो बनाइदिएको बताएका थिए ।
लिपिङ खोलामा तातोपानी नाका एकतर्फी बन्द गरेर आजदेखि सुरु गरिएको बेलिब्रिज जडाको अनुगमन गर्दै सांसद सापकोटाले आवश्यक सहजिकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै सांसद सापकोटाले बलेफी गाउँपालिकाको बलेफी बजार नजिकै निर्माण सम्पमन्न हुँदै गरेको नेपालकै पहिलो र्याफ्टिङ स्कुलको अनुगमन गरेका छन् । टुनिबोटे मिलडाँडा मांखा मानेश्वारा भैरबकुण्ड निर्वाचनक्षेत्र रणनैतिक सडकको अनुगमनपछि सांसद सापकोटाले निर्माण पक्षलाई सम्झौता अनुसार समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देश गरे ।

