२१ माघ, सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरुले देशमा परिवर्तन र विकास माओवादीकै कारण सम्भव भएकोले भ्रममा नपर्न आव्हान गरेका छन् । नेताहरुले भ्रष्टाचार, अन्याय, अत्याचार र विभेद विरुद्ध आवाज उठाएर जन्मिएको माओवादी नै जनताको सच्चा पहरेदार भएको स्पष्ट गरेका हुन ।
जुगल गाउँपालिकाको वडा नं ५ स्थित ढाँडे बजारमा हज्जारौं जनताको उपस्थितिमा आयोजित तेस्रो सम्मेलनमा बोल्दै नेताहरुले जुगल हिमाल आरोहण खुला गर्ने, तेम्बाथानसम्मको सडक, बिजुली, शिक्षा, स्वास्थ्य र पर्यटन विकासको नेतृत्व माओवादीले लिइरहेको तथ्य प्रस्तुत गरेका हुन् ।
एमाले, कांग्रेस लगायतका विभिन्न पार्टी परित्याग गरी २ सय ५० बढी नेताकार्यकर्ता माओवादीमा आवद्ध भएको सो सम्मेलनमा पार्टी केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज केशव नेपालले समाजवाद निर्माणका लागि माओवादीले काम गरिरहेको बताए । कार्यक्रममा जनयुद्धमा सहभागी भएका एकसय बढी योद्धाहरुलाई सम्मान गरिएको थियो ।
सिंगो जुगललाई हराभरा बनाउन माओवादीको एकल जित आवश्यक : सुबोध
आफ्नो शुभकामना मन्तव्यमा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभासदस्य एवं माओवादी केन्द्रका केन्द्रीय नेता माधव सापकोटा सुबोधले जुगलले माओवादीले सुरु गरेको जनयुद्धमा आधारभूमिका रुपमा सहजिकरण गरेको स्मरण गर्दै सहिद, बेपत्ता, घाइते योद्धाहरुलाई सम्मान व्यक्त गरे । जुगलबाट पुराना सत्ताहरुको विघटन गरी जनसत्ताको सुरुवात गरिएको बताए । जनयुद्धमा होमिएका योद्धाहरुलाई पालिकाले गरेको सम्मानप्रति धन्यवाद ज्ञापन गर्दै इतिहासको सम्मान गरेर मात्रै बर्तमानमा राम्रो काम गर्न सकिने धारणा राखे । विगतको योगदानको सम्मान हुने तर अबका दिनमा वडापार्टी निर्माणलाई हेरेर मुल्यांकन हुने नेता सुबोधले स्पष्ट गरे ।
नेता सापकोटाले माओवादीको नेतृत्वमा सिंगो जुगललाई हराभरा बनाउन बहुमत आवश्यक रहेकोले एक्लै चुनाव लडेर, बहुमत वडासहित पालिका अध्यक्ष, उपाध्यक्ष जित्ने संकल्प गर्न आब्हान गरे । माओवादीलाई जुगलमा २०८४ को चुनाबमा दिग्बीजयको झण्डा गाड्न सक्ने नेतृत्व आवश्यक रहेको उनको भनाई थियो । माओवादीले १२ बर्ष अघि नै हात हातमा मोबाइल, घर घरमा इन्टरनेटको नारा ल्याएको स्मरण गर्दै उनले त्यसकै नतिजाका रुपमा आज हात हातमा मोवाइल सम्भव भएको उल्लेख गरे ।
प्रचण्ड नेतृत्वको सुशासन समृद्धि र समाजवादको नारा लिएर भ्रष्टाचारीलाई जेल हाल्न सुरु गरेको जानकारी दिँदै उनले नेपालीलाई भुटानी शरणार्थी बनाएर बेच्ने, बालुवाटारको ललितानिवास जग्गा घोटाला, गिरीबन्धु टि स्टेटजस्ता भ्रष्टाचारमा संलग्नहरुलाई जेल हाल्न थालेपछि जनताले माओवादीलाई बुझ्न थालेको सापकोटाले स्पष्ट गरे । हिजो माओवादीले बाँडेका सपनालाई उडाउने गरिएकोमा हाल आएका नतिजाले माओवादीको योजनावद्ध विकास र परिवर्तनलाई बुझ्न थालेको बताए । प्रधानमन्त्री केपी ओली तामझाम सहित विविध कार्यक्रममा जाँदा विरोध हुने गरेको तर सामान्य तरिकाले देशभर जाँदा माओवादी अध्यक्ष प्रचण्डको पक्षमा जनलहर पैदा भएको उनको भनाई थियो । माघ २४ गतेको प्रतिनिधि सभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने जानकारी दिँदै उनले प्रचण्डको सम्बोधले देशलाई राजनीतिक लाईन दिने बताए । ‘प्रचण्डको सम्बोधनले संसद र सडक तताउने काम गर्छ, संसदले सडक, सडकले संसदलाई सहजिकरण गर्छ’ सापकोटाले भने ।
माओवादी गौरवपूर्ण इतिहास बोकेको पार्टी हो : सरल
सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दै माओवादी केन्द्रको बागमती प्रदेश सभा सदस्य एवं वागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले संसदमा आफूहरुले प्रदेश सभा र संघीय संसदमा बोलको आवाज जुगल लगायतका स्थानीय जनताको आवाज भएको बताए । प्रदेश र संघीय संसदमा आफूहरुलाई मतदान गरि विजय गराएकोमा धन्यवाद दिँदै उनले जनअपेक्षा अनुसार काम गर्ने उनको प्रतिवद्धता थियो । उनले माओवादी त्याग, तपस्या र बलीदानको गौरवपूर्ण इतिहासले जन्मिएको पार्टी भएको उल्लेख गर्दै पार्टीप्रति गर्व गर्न आव्हान गरे । पार्टी र नेतृत्वप्रति गौरवगर्न लायक काम गरेर अघि बढ्न माओवादीपंक्ति तयार रहनु पर्ने उनको भनाई थियो । उनले अबको नेतृत्वले माओवादी केन्द्रको साख जोगाउँदै सातै वडामा अध्यक्ष, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एकल जित्नेगरी नयाँ नेतृत्व चयन सक्ने गरि काम गर्नु पर्नेमा उनले जोड दिए ।
माओवादीे खबरदारीको आव्हान गर्ने पार्टी भएको उल्लेख गर्दै माओवादीले आम जनसमुदायलाई जागृत गराएको स्मरण गर्दै उनले जनसमुदायको समस्यासँग काम गर्न सक्ने टिमको जरुरत भएकोमा जोड दिए । माओवादीका कारण अहिले गाउँ गाउँमा सिंहदरबार रहेको उल्लेख गर्दै उनले १० लाख आउने स्थानीय तहमा अरबौंको बजेट आउने अवस्था आएको उल्लेख गरे । देशभरका ७ सय ५३ वटा स्थानीय सरकार, सातवटा प्रदेश सरकार र संघीय सरकार माओवादीका कारण बनेको नविर्सन आग्रह गर्दै उनले अहिले आएको बजेट माओवादीवाला बजेट भएको स्पष्ट गरे । गाउँ गाउँमा सिंहदरबारका लागि नै माओवादीले उबेलाको गाविसहरुलाई अस्वीकार गरेको उनको भनाई छ । जुगल हिमाल आरोहण, मन्जुश्रीपार्क, तेम्बाथानसम्मको सडकको परिकल्पना माओवादीले गरेको सांसद सरलले स्पष्ट गरे । अहिले स्थानीय सरकारहरुमा गैर माओवादीहरुले बागको छालामा स्यालको रजाईं जस्तो गरेको उनले बताए ।
माओवादीले गरेको कामको सकारात्मक प्रभावले जनताको मन तान्यो : नेपाल
शुभकामना व्यक्त गर्दै केन्द्रीय नेतृ एवं प्रदेश सभा सदस्य अमृता नेपाल प्रभाले माओवादीले आशा जगाएको उल्लेख गर्दै पार्टीको योगदानको चर्चा गरिन् । उनले माओवादीक कारण जाति, वर्ग, क्षेत्र र लंैगिक विभेद भोगिरहेका जनताले अधिकार पाएको स्मरण गरिन् । हामीले केही गर्नुपर्छ भन्ने भावना समाजमा माओवादीले मात्रै दिन सक्ने उनको तर्क छ । माओवादीले सरकारको नेतृत्व गर्दा परेको सकारात्मक प्रभावले जनताको मन तानेको उनको भनाई छ । वर्तमान सरकारको गलत क्रियाकलापका विरुद्ध खबरदारी गरिएको नेतृ प्रभावले बताइन् ।
पार्टीको नीति अनुसार काम : स्याङ्बो
पार्टी वागमती प्रदेश सदस्य एवं जुगल गाँउपालिका अध्यक्ष रेशम स्याङ्वोले आफुले पार्टीको नीति अनुसार काम गरेको उल्लेख गरे । गाउँ सरकार प्रमुखका रुपमा आफूले बाँसखर्कको स्तुपा, मानेडाँडामा मिनिरंगशाला निर्माण, सिदुर्चेमा संस्कृतिको झल्को दिनेगरि २५ यस मिटरमा १२५ फिट जुगल भ्यु प्वाइन्ट, सञ्चगाउँमा गुम्बा, लिदी पहिरो पीडितको सम्झनामा ३९ फिटको छुर्तेन, ३ नं वडा जुगल हिमशृंखलाको आरोहण खुला गर्न सहजिकरण गरेको बताए । उनले नेपेमाछाल क्षेत्रमा पुजाआजा गरेर संस्कतिक क्षेत्रको रुपमा बढाएको, तेम्बाथानमा बिजुलीको स्थापनासहित गाउँपालिकाकै व्यवस्थापनमा कक्षा ८ सम्मको पढाई सुरु गरेको, गुम्बामा ८० लाखको लागतमा स्वाथ्य चोकी, बोल्देमा बसपार्क र धारा निर्माण, पाकुमा केदारेश्वर मन्दिर निर्माण, घुगामा दोमन पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, हाप्रामा नेवारी संस्कृतिको कुलघर निर्माण, मञ्जुश्री पार्क, याङलाकोटमा गुम्बा निर्माण कार्य गरिएको लगायत स्थानीय सडक पूर्वाधार, खानेपानी तथा सिंचाईहरुको माग र आवश्यकताको आधारमा बजेट व्यवस्थापन गरि बिकास निर्माणको कार्य गरिरहेको जानकारी गराए ।
पार्टीका जुगल अध्यक्ष इश्वर गुभाजुको अध्यक्षतमा भएको सम्मेलनमा अखिल क्रान्तिकारीमा नवनिर्वाचित उपाध्यक्ष विराज थापा, पालिका उपाध्यक्ष बहादुर गोले, पूर्व अध्यक्ष पदम बहादुर क्षेष्ठ, उपाध्यक्ष चिन बहादुर लामालगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गरे ।
जुगलमा एमाले कांग्रेसका २ सय ५० बढी नेताकार्यकर्ता माओवादीमा प्रवेश
जुगल गाउँपालिकामा एमाले, कांग्रेस लगायतका विभिन्न पार्टी परित्याग गरि २ सय ५० बढी नेता कार्यकता माओवादीमा प्रवेश गरेका छन् ।
ढाँडे बजारमा सोमबार आयोजित नेकपा (माओवादी केन्द्र) को जुगल गाउँपालिकाको तेस्रो सम्मेलनको उद्घाटन सत्रमा पार्टी प्रवेश गरेका नेता कार्यकर्तालाई माओवादीका केन्द्रीय नेताहरुले अविरमाला लगाएर स्वागत गरे । पार्टीका जिल्ला ईन्चार्ज केशब नेपाल, प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोध, बागमती प्रदेश सभा सदस्य एवं बागमती पार्टी अध्यक्ष सरल सहयात्री पौडेल, प्रदेश सभा सदस्य अमृता नेपाललगायतले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुका तर्फबाट सम्बोधन गर्दै नवप्रबेसीले माओवादीले संघदेखि प्रदेश र स्थानीय तहमा गरेको काम र लिएको नीतिले आफूहरुलाई आकर्षण गरेका बताए । नवप्रवेशी नेता कार्यकर्ताले माओवादीले आफूहरुलाई आशावादी बनाएकोले पार्टी प्रवेश गरेको बताए । जुगल गाउँपालिकाको अध्यक्ष माओवादीले जितेको छ भने सो क्षेत्र माओवादीको आधार क्षेत्रका रुपमा परिचित छ । जनजातिको बाहुल्यता रहेको जुगलमा माओवादीले जनपक्षीय काम गरेको स्थानीयको भनाई छ ।