सिन्धुपाल्चोकका युवा नेता द्वय सापकोटा र दुलाललाई माओवादीमा महत्वपूर्ण जिम्मेवारी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले हालै सम्पन्न बैठकमार्फत सिन्धुपाल्चोक जिल्लाका दुई प्रभावशाली युवा नेताहरू माधव सापकोटा 'सुबोध' र युवराज दुलाल 'सरद'लाई महत्वपूर्ण विभागीय जिम्मेवारी प्रदान गरेको छ।

२८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले हालै सम्पन्न बैठकमार्फत पार्टीको विभिन्न विभागहरूमा नयाँ जिम्मेवारी बाँडफाँट गरेको छ। यस क्रममा सिन्धुपाल्चोक जिल्लाका दुई प्रभावशाली युवा नेताहरू माधव सापकोटा ‘सुबोध’ र युवराज दुलाल ‘सरद’लाई महत्वपूर्ण विभागीय जिम्मेवारी प्रदान गरेको छ।
माओवादीले सापकोटालाई वन, वातावरण तथा जलवायु परिवर्तन विभागको प्रमुखको जिम्मेवारी दिएको छ । उनी हाल संघीय संसद्, प्रतिनिधि सभा सदस्यका रूपमा सिन्धुपाल्चोक १ बाट प्रतिनिधित्व गरिरहेका छन्। उनले लामो समयदेखि जलवायु परिवर्तन, वन संरक्षण, हरित विकास र पर्यावरणीय न्यायका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। संसदीय समितिहरूमा उनले उठाएका विषयहरूले नेपालका वातावरणीय नीतिहरूमा प्रभाव पार्दै आएका छन्। वन तथा वातावरणसँग सम्बन्धित विधायन निर्माणदेखि लिएर नीतिगत सुधारका पक्षमा उनले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्। हालै मात्र उनले संसदमा जलवायु परिवर्तनका असरहरू, हरित अर्थतन्त्र र नेपालका वन स्रोत व्यवस्थापनबारे विस्तृत धा।णा अघि सारेका थिए।

त्यस्तै दुलाललाई ऊर्जा, जलस्रोत तथा सिंचाइ विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ। उनी हाल बागमती प्रदेशसभा सदस्यका रूपमा सिन्धुपाल्चोक २ (क) बाट प्रतिनिधित्व गरिरहेका छन्। उनी बागमती प्रदेशका पूर्व मन्त्री समेत हुन् । ऊर्जा क्षेत्रमा नीति निर्माण, जलविद्युत् विकास, वैकल्पिक ऊर्जा प्रवर्द्धन र पूर्वाधार निर्माणको क्षेत्रमा उनको सक्रियता रहँदै आएको छ। उनी जलविद्युत् उत्पादन, वितरण प्रणालीको सुदृढीकरण र स्थानीय स्रोत साधनको उपयोगबारे विभिन्न बहसहरू पैरवी गर्दै आएका छन् ।
सिन्धुपाल्चोक जिल्लाका यी युवा नेताहरूले आफ्नो अनुभव र कार्यक्षमताका आधारमा नीति निर्माण र कार्यान्वयनमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ। सिन्धुका अर्का युवा नेता सरल सहयात्री पौडेल माओवादी बागमती प्रदेशका निर्वाचित अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य छन् । सिन्धुपाल्चोकबाट माओवादीमा उपाध्यक्षको जिम्मेवारीसहित निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा प्रवक्ता, प्रकाशन एवं प्रचार विभाग प्रमुख छन् ।

प्रतिक्रिया