जुगलस्थित थुबतेन दोर्जे ढकर छ्योलिङ गुम्बामा प्राण प्रतिष्ठान, धार्मिक र सांस्कृतिक गौरवको अनुपम उदाहरण

जुगल गाउँपालिका, ५ झिरगाउँमा नवनिर्मित थुबतेन दोर्जे ढकर छ्योलिङ गुम्बामा प्राण प्रतिष्ठान कार्यक्रम गरिएको छ ।

३० माघ, सिन्धुपाल्चोक । जुगल गाउँपालिका, ५ झिरगाउँमा नवनिर्मित थुबतेन दोर्जे ढकर छ्योलिङ गुम्बामा प्राण प्रतिष्ठान कार्यक्रम गरिएको छ । गुम्बामा प्राण प्रतिष्ठान गरिएपछि यो धार्मिक स्थल पूर्ण रूपमा सञ्चालनमा आएको छ भने यसले पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।
केही समययता सामाजिक सञ्जालमा भाइरल भइरहेको यस गुम्बाको प्राण प्रतिष्ठान कार्यक्रम मंगलबार माघ २९ गतेबाट सुरु भएको थियो । सो कार्य दोस्रो दिन आज ३० माघमा समापन भएको हो । परम्परागत मान्यता अनुसार बुद्ध धर्मको विधि अनुसार गुम्बामा प्राण प्रतिष्ठान गर्न लामा गुरुहरूले विशेष मन्त्रोच्चारण गरी धार्मिक अनुष्ठान सम्पन्न गरेका थिए । यसरी मन्त्र, ध्यान र पूजा अर्चनाको माध्यमबाट गुम्बामा शक्ति स्थापना हुने विश्वास छ ।
प्राण प्रतिष्ठान कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, जुगल गाउँपालिका प्रमुख रेशम स्याङ्बो, पालिका परिवार, धार्मिक गुरुहरू, सांस्कृतिक व्यक्तित्वहरू र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । जुगलमा गुम्बाको निर्माण र प्राणप्रतिष्ठानलाई ऐतिहासिक घटनाको रूपमा लिइएको छ ।
थुबतेन दोर्जे ढकर छ्योलिङ गुम्बा नेपाली संस्कृति र बौद्ध धर्मको गौरवशाली परम्पराको प्रतीक हो । गुम्बाले स्थानीय बासिन्दाहरूको आस्था र विश्वासलाई अझ बलियो बनाएको छ भने धार्मिक सद्भाव र सामुदायिक एकताको पनि संदेश दिएको छ । गुम्बाअब धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणबाट पनि महत्वपूर्ण बनेको छ ।

बागमती प्रदेश सभा सदस्य पौडेलले यस कार्यक्रमलाई धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताको प्रतीक बताउँदै यसले समाजमा सकारात्मक सन्देश दिएको बताए । उनले यस्ता धार्मिक स्थलहरूको संरक्षण र संवर्धनमा सरकारले पनि आवश्यक पहल गर्नुपर्ने बताए । जुगल गाउँपालिका प्रमुख स्याङ्बोले कार्यक्रम ऐतिहासिक रूपमा महत्वपूर्ण रहेको बताउँदै यसले स्थानीय समुदायलाई जोड्ने र संस्कृति संरक्षणमा ठूलो भूमिका खेल्ने बताए । थुबतेन दोर्जे ढकर छ्योलिङ गुम्बाले जुगल गाउँपालिकाको पहिचानलाई अझ मजबूत बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया