प्रविधिको विकाससँगै सामाजिक सञ्जाल हरेक नागरिकको पहुँचमा पुगेको छ, यसले संचारको लोकतान्त्रिकरणलाई सहज बनाएको छ।
कुनै बेला थियो, जतिखेर बहुसंख्यक जनतालाई शिक्षाको अधिकार थिएन। सूचना, साहित्य र दस्तावेजीकरण समेतको अधिकार सत्ता नजिक केहि निहित व्यक्तिहरुलाई मात्र दिइएको थियो। उनीहरुले बर्णन गर्ने घटना, साहित्य तथा लेखेका इतिहासमा शासकको बढाई चढाई र गुणगान गरी लेखिएको हुन्थ्यो। त्यसैले हामी पुरानो कालखण्ड बारेको जतिपनि लेख, पुस्तक या ग्रन्थहरु पढ्छौं, ति सबैमा शासन गर्नेको वास्तविक सामर्थ्यभन्दा अस्वाभाविक रुपमा बढाएर लेखिएको पाइन्छ र जनतालाई प्रतिप्रश्न गर्ने अधिकार पनि नभएको कारण विश्वास गर्न बाध्य पारिएकोले त्यो बेलाका सबै शासकहरुलाई जबरजस्ती महान, देबतुल्य र पुज्यनीय बनाइएको थियो।
प्रबिधि संगै आम जनताले पनि शिक्षित हुने मौका पाए । आजकल उहिले जस्तो राजकबि तथा दरबारको नजिकको व्यक्तिले मात्र सबै सूचना लेखन र प्रसारण गर्ने जमाना क्रमश हट्दै गयो। शिक्षा र प्रविधिमा भएकाे विकासका कारण जनतामा पनि आलोचनात्मक चेत र सूचना प्रसारण गर्न क्षमता आएकाले उहिले जस्तो महाराजहरु हावामा उडेको, लात्ती हान्दा पहाड भत्केको तथा पृथ्बी र आकाशलाई तलमाथि गरेको जस्ता उडन्ते कुरा जनताले पत्याउदैनन्।
नागरिकमा आएको शिक्षा र चेतना कै कारण अहिलेको शासकीय व्यवस्था सम्भब भएको हो र शासन गर्न उहाँहरुलाई जनताले नै चुनेर पठाएका हुन्। आम जनताको पहुँचमा समेत भएको ‘संचार को लोकतान्त्रिकरण’ गरेको सामाजिक संजाललाई निषेध गर्न खोज्नु खोज्नु फेरि पुरानै ब्यवस्थामै फर्कनु हो। तर पुरानो ब्यवस्था नै रहिरहेको भए सत्तामा अहिलेको अनुहारहरु को सम्भावना कति हुन्थ्यो होला ?
सायद एकतन्त्रीय शासनका महाराज हरुलाई मात्र जनताले पढ्न सकेको, आफूले पनि सूचना उत्पादन गर्न सकेको र केहि ‘चेत’ भएको मन पर्थेन। तर जनता बाटै निर्वाचितहरु केहि निश्चित समयको लागि मात्र देश र जनताको सेवा गर्न त्यो ओहोदामा पुगेको हो भने धेरै जनताले समेत सूचना र धारणा प्रसारण गर्न सक्ने सामाजिक संजालबाट पक्कै पनि आत्तिनु पर्दैन।
आफूलाई श्री ३ कै हाराहारीको शासक ठानियो भने मात्र जनताले पनि बोलेको, धारणा राखेको र सूचना प्रसारण गरेकोमा रिस उठ्छ। तर जनताको सेवक ठानियो भने त्यहि धारणा पृष्ठपोषण बन्छ र अझ राम्रो गर्ने मौका मिल्छ।