नेपालमा ३० औं जनयुद्ध दिवस : सिन्धुपाल्चोकमा विविध रचनात्मक कार्यक्रम

नेपालमा जनयुद्ध दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना भएका छन्। यसै क्रममा, जनयुद्धको ऐतिहासिक स्थलमध्ये एक सिन्धुपाल्चोकको कुविण्डे, चौतारामा विविध रचनात्मक कार्यक्रम सम्पन्न भएका छन्।

२ फागुन, सिन्धुपाल्चोक । नेपालमा जनयुद्ध दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना भएका छन्। यसै क्रममा, जनयुद्धको ऐतिहासिक स्थलमध्ये एक सिन्धुपाल्चोकको कुविण्डे, चौतारामा विविध रचनात्मक कार्यक्रम सम्पन्न भएका छन्।

जनयुद्ध दिवसकै अवसर पारेर बिहान कुविण्डेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो, जसबाट स्थानीय तथा छिमेकी क्षेत्रका नागरिकहरू लाभान्वित भए। स्वास्थ्य परीक्षण, औषधि वितरण तथा परामर्श सेवा प्रदान गरिएको यस शिविरमा चिकित्सकहरूको टोली परिचालित गरिएको थियो। कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं. १ का संघीय सांसद माधव सापकोटा ‘सुबोध’, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, वडा नं. ४ का वडाध्यक्ष कुमार शर्मा, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगाल, जनप्रतिनिधिहरू, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा स्थानीय माओवादी नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सापकोटा ‘सुबोध’ ले जनयुद्धको उपलब्धिहरूलाई अपमान गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे। उनले जनयुद्धकै कारण प्राप्त भएको व्यवस्थाबाट वडा सदस्यदेखि प्रधानमन्त्री हुँदै राष्ट्रपतिसम्म निर्वाचित हुने तर जनयुद्धलाई अस्वीकार गर्ने वा अपमान गर्ने प्रवृत्ति स्वीकार्य नहुने धारणा राखे। संसद र सार्वजनिक मञ्चहरूमा जनयुद्धको व्याख्या गर्ने विषयमा भइरहेका बहसहरूप्रति प्रतिक्रिया दिँदै उनले भने, “जनयुद्धलाई वैधानिक रूपमा लिने कि नलिने भन्ने बहस छ। संविधान निर्माणका क्रममा यस विषयमा व्यापक छलफल भयो। अन्ततः संविधानमा ‘सशस्त्र संघर्ष’ लेख्ने र व्याख्यात्मक घोषणामा ‘जनयुद्ध’ उल्लेख गर्ने सहमति भयो, जसले जनयुद्धलाई संविधानमै स्वीकार गरिएको पुष्टि गर्छ।” संसदमा जनयुद्धलाई लिएर हुने बहसहरूबारे उनले थपे, “केही मान्छेहरूले जनयुद्धलाई सशस्त्र संघर्ष भन्छन्, केहीले हिंसा भन्छन्, तर मुख्य कुरा त्यो होइन। जनयुद्धले ल्याएका उपलब्धिहरूलाई अस्वीकार गर्नु अन्यायपूर्ण हुन्छ।” मेयर सापकोटाले नगरले जनपक्षीय र रचनात्मक कार्यक्रम जारी राख्ने प्रतिवद्धता जनाए ।

‘नागरिक अधिकार स्थापनाका लागि १० वर्षे जनयुद्धको भूमिका’ शीर्षकमा क्याम्पसस्तरीय वक्तृत्वकला

दिउँसो ‘नागरिक अधिकार स्थापनाका लागि १० वर्षे जनयुद्धको भूमिका’ शीर्षकमा क्याम्पसस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरियो। विभिन्न शिक्षण संस्थाबाट आएका विद्यार्थीहरूले जनयुद्धले ल्याएको सामाजिक, राजनीतिक तथा आर्थिक परिवर्तन, स्वतन्त्रता, न्याय र समानताका विषयमा आ–आफ्ना विचार व्यक्त गरे। प्रतियोगितामा सहभागी विद्यार्थीहरूको प्रस्तुति सुन्दै नेताहरूले चौताराको जनयुद्ध दिवस कार्यक्रम विशेष रहेको टिप्पणी गरे। कार्यक्रममा सांसद सापकोटा, मेयर सापकोटा, बागमती प्रदेशसभा सदस्य तथा माओवादी केन्द्रीय सदस्य युवराज दुलाल ‘सरद’, माओवादी जिल्ला संयोजक गोविन्द पराजुलीलगायतको उपस्थिति थियो। पार्टीका केन्द्रीय सदस्यदेखि नगरस्तरका नेतासम्मको व्यापक सहभागिता रहेको सो कार्यक्रममा जनयुद्ध समाप्तिपछि जन्मिएका विद्यार्थीहरूले तार्किक रूपमा जनयुद्धको चर्चा गर्दा आफूहरू नतमस्तक भएको अनुभव नेताहरूले बाँडे। विद्यार्थीहरूको तार्किक प्रस्तुतिले नै कार्यक्रमको उद्देश्य पूरा भएको निष्कर्ष निकाल्दै, पूर्वनिर्धारित वक्ताहरूले मन्तव्य नराख्ने निर्णय गरिएको दुलालले बताए। प्रतियोगितामा चौतारा बहुमुखी क्याम्पसका सरोज लामा प्रथम, जयन्ती बस्नेत दोस्रो, जुगल बहुमुखी क्याम्पसकी अमृता सुनार तेस्रो, तथा सिद्धिगणेश माविकी रोशिना घिमिरे चौथो भए।

योद्धाहरूको सम्झनामा दीप प्रज्वलन

साँझ चौतारा टुँडिखेल गेटमा जनयुद्धका क्रममा बेपत्ता, घाइते तथा अपांग भएका योद्धाहरूको सम्झनामा दीप प्रज्वलन गरियो। ठूलो जनसहभागिताका बीच श्रद्धाञ्जली अर्पण गर्दै सहभागीहरूले जनयुद्धका सहिदहरूको बलिदानप्रति सम्मान प्रकट गरे। दीप प्रज्वलनमार्फत उनीहरूले सहिदहरूले देखाएको बाटो अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरे। सिन्धुपाल्चोकका बलेफी, इन्द्रावतीलगायतका स्थानीय तहमा पनि दीप प्रज्वलन गरिएको थियो।

प्रतिक्रिया