२५ चैत, काठमाडौं । नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐन लगायतका माग राखी जारी आन्दोलनप्रति नेकपा (माओवादी केन्द्र) ले ऐक्यवद्धता प्रकट गर्दै आम जनसमुदायलाई शिक्षक आन्दोलनको पक्षमा उभिन आह्वान गरेको छ।
पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। विज्ञप्तिमा शिक्षा क्षेत्रको गुणात्मक सुधारलाई आजको आवश्यकता ठहर गर्दै शिक्षकहरूको पेशागत सुरक्षा र उत्प्रेणामूलक वातावरणको सुनिश्चितता अपरिहार्य रहेको उल्लेख गरिएको छ।
“देशको सर्वाङ्गीण विकासमा शिक्षा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। संविधानतः आम नागरिकले शिक्षा प्राप्त गर्न पाउने अधिकार सुनिश्चित गरिएको भए पनि आवश्यक कानुनी संरचना निर्माण नहुँदासम्म संघीयताको मर्मअनुसार शैक्षिक पुनर्संरचना सम्भव छैन,” विज्ञप्तिमा भनिएको छ।
नेकपा (माओवादी केन्द्र) का अनुसार तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले कैयन जटिलता बाबजुद विद्यालय शिक्षा विधेयक तर्जुमा गरी व्यवस्थापिका संसदमा दर्ता गरिसकेको थियो। सो क्रममा नेपाल शिक्षक महासंघसँग दुईपटक २०८० असोज ५ र १२ गते सहमति भएको उल्लेख गर्दै, त्यही सहमतिअनुसार तयार पारिएको विधेयकलाई तत्काल पारित गर्नुपर्नेमा जोड दिइएको छ। “कांग्रेस–एमाले गठबन्धन सरकारले हजारौं शिक्षक र लाखौं विद्यार्थीको पेशा तथा भविष्यमाथि खेलवाड गरेको छ। आन्दोलनरत शिक्षकहरूको मागलाई वेवास्ता गर्दै, अर्कोतर्फ देशलाई गम्भीर असर पार्ने प्रकृतिका ऐनहरू अध्यादेशमार्फत जारी गर्नु र अहिले आएर आन्दोलन चर्किएपछि बजेट अधिवेशनको बहानामा विधेयक पारित गर्ने भनाइ प्रस्तुत गर्नु हास्यास्पद र गैर जिम्मेवार व्यवहार हो,” विज्ञप्तिमा भनिएको छ।
माओवादी केन्द्रले विशेष अधिवेशन वा अन्य उपयुक्त संवैधानिक उपायमार्फत विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर्न सरकारसहित सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ। साथै, शिक्षकहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै आम जनसमुदायलाई पनि आन्दोलनको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरिएको छ।