२८ चैत, सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका–७ मा प्रजनन स्वास्थ्यसम्बन्धी एक दिवसीय बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्थानीय सरकारको पहल र समन्वयमा आयोजित उक्त शिविरमा विभिन्न स्वास्थ्य समस्या लिएर आएका १९३ जनाले सेवा लिएका छन्।
गाउँपालिका र वडा कार्यालयको संयुक्त आयोजना तथा बागमती प्रदेश सभासद् अमृता नेपालको समन्वयमा भएको उक्त शिविर गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राई, वडा नं ७ का वडाध्यक्ष गृविन्द्र कुमार चौलागाईंलगायतको उपस्थितिमा सम्पन्न भएको हो।
स्वास्थ्य शाखाका सञ्जन न्यौपानेका अनुसार शिविरमा विशेष गरी गर्भाशयको मुखको क्यान्सर पहिचान तथा रोकथाम सम्बन्धी परीक्षणमा केन्द्रित गरिएको थियो। परीक्षण गरिएका महिलामध्ये पाँचजनामा पाठेघरको मुखमा क्यान्सरका प्रारम्भिक लक्षण देखिएको पुष्टि गरिएको छ। शिविरमा डा. सोनाली बास्कोटा, डा. सरोज भट्टराई तथा बलेफी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरे लगायतको टोलीले विशेषज्ञ सेवा उपलब्ध गराएका थिए। साथै शिविरमा पाठेघर झर्ने समस्या पहिचान गरी रिङ उपकरण राख्ने, स्तन क्यान्सर, फिस्टुला तथा प्रजनन अंगमा संक्रमण सम्बन्धी रोगहरूको उपचार र परामर्श सेवा पनि प्रदान गरिएको थियो।
प्रदेश सभासद् नेपालले ग्रामीण महिलाहरू अझै पनि चेतनाको अभाव, सामाजिक लान्छना र स्वास्थ्य सेवामा पहुँचको कमीका कारण आफ्ना स्वास्थ्य समस्या लुकाउन बाध्य हुने अवस्था रहेको उल्लेख गर्दै यस्ता महिलालाई लक्षित गरी विशेषज्ञ टोलीमार्फत सेवा दिनु आवश्यक भएको बताइन्। उनले यसअघि पनि आफ्नो समन्वयमा बलेफी गाउँपालिका–३ ओख्रेनीमा यस्तै प्रकृतिको स्वास्थ्य शिविर सञ्चालन भइसकेको जानकारी दिइन्।
गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। शिविरमा सेवा लिन आएका महिलाहरूले सांसद नेपाल, गाउँपालिका, वडा कार्यालय तथा सहभागी चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिँदै यस्तो सेवा पुनः पाउने आशा व्यक्त गरेका छन्।