३१ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्ष २०८२ को प्रवेशसँगै नयाँ सरकार गठनको आधार तयार हुँदै गएको बताएका छन्। शनिबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्न सक्ने संकेत गरे।
पत्रकारले नयाँ वर्षमा नयाँ सरकारको सम्भावना बारे जिज्ञासा राख्दा प्रचण्डले भने, “हाम्रो ध्यान सरकारतिर त्यति छैन, तर परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन। त्यसकारण कुनै पनि सम्भावना हुन सक्छ।” उनले आफूले पहिलेदेखि नै ठूलो दलको हैसियतले सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताउँदै आएको दोहोर्याए।
प्रचण्डले वर्तमान सरकारप्रति चौतर्फी असन्तुष्टि बढिरहेको उल्लेख गरे। उनले भने, “चौतर्फी असन्तुष्टि, आक्रोश, आवेग र आन्दोलन चलिरहेको छ। डाक्टर, नर्स, शिक्षक, लघुवित्त पीडितदेखि सबै राजनीतिक दलहरू सडकमा छन्। सरकारमा भएका दलहरू पनि सडकमा आउन थालेका छन्। यो परिस्थिति निकै गम्भीर र पेचिलो बनेको छ।” तर, उनले नयाँ वर्षले निकासको बाटो पहिल्याउने विश्वास व्यक्त गरे।
उनले थपे, “सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नु नै सही हुन्छ। पछिल्लो समय नयाँ अनुभव र आधारहरूमा मैले यो कुरा भनेको हुँ। मलाई लाग्छ देश त्यही दिशातिर जान्छ।” प्रचण्डले थप कुरा खुलाउन भने चाहेनन्।