वैशाख १२ गते संघीय संसद्को बैठक आह्वान, शिक्षा विधेयक पेश गरिने

सरकारले संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारीस्वरूप भन्दै संघीय संसद्को वर्षे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ।

२ वैशाख, काठमाडौं । सरकारले संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारीस्वरूप भन्दै संघीय संसद्को वर्षे अधिवेशन आह्वान गरेको छ। आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे का लागि संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारले विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरणको प्रक्रिया अघि बढाउने बताएको छ।

बैठकपछि शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासंघले उठाएका मागहरूबारे सरकार गम्भीर र संवेदनशील रहेको जानकारी दिँदै, यथोचित मागहरूको सम्बोधनका लागि वार्ता तथा संवादमा निरन्तरता दिइने बताइन्। संवादकै माध्यमबाट समस्या समाधान गरिने सरकारको धारणा रहेको उनले स्पष्ट पारिन्। मन्त्रिपरिषद्ले शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। हालको समयमा एसईईको उत्तरपुस्तिका परीक्षण, विद्यार्थी भर्ना प्रक्रिया, तथा कक्षा १२ को राष्ट्रिय परीक्षा जस्ता महत्वपूर्ण शैक्षिक गतिविधिहरू भइरहेका सन्दर्भमा, विरोधका कार्यक्रमहरू तत्काल स्थगन गर्न र शिक्षकहरूलाई आ-आफ्नो कार्यस्थलमा फर्कन आग्रह गरेको छ।

शिक्षामन्त्री भट्टराईले मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै अभिभावक, विद्यार्थी तथा शिक्षा क्षेत्रको हितलाई ध्यानमा राख्दै सबै पक्षलाई शिक्षा क्षेत्रलाई अवरुद्ध हुन नदिई समाधानमा सहयोग गर्न अनुरोध गरेकी छन्। शिक्षक महासंघ चैत्र २० गतेदेखि काठमाडौंमा सडक आन्दोलनमा छ ।

प्रतिक्रिया