४ वैशाख काठमाडौँ । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना हुने सगरमाथा संवादबारे नेकपा (माओवादी केन्द्र) अन्तर्गतको वन, वातावरण तथा जलवायु विभागले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ ध्यानाकर्षण पत्र बुझाएको छ।
वैशाख ३ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा विभाग प्रमुख माधव सापकोटा ‘सुबोध’को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सो ध्यानाकर्षण पत्र बुझाएको हो। प्रतिनिधिमण्डलमा प्रमुख सापकाेटासँगै यज्ञनाथ दाहाल, कृष्ण वस्ती, गोविन्द दाहाल, प्रेम सापकोटा र श्रीधर न्यौपाने सहभागी थिए। कार्यक्रममा प्रमुख सापकोटाले ध्यानाकर्षण पत्र प्रधानमन्त्री समक्ष वाचन गरी संवाद कार्यक्रमबारे पार्टीको धारणा, सुझाव र चासोहरू औपचारिक रूपमा प्रस्तुत गरेका थिए।
ध्यानाकर्षण पत्रमा सगरमाथा संवादलाई स्वागत गर्दै संवादको तयारी प्रक्रियामा विगतमा नेपालको जलवायु कूटनीति तथा हिमाली संरक्षण सम्बन्धी ऐतिहासिक योगदानहरू उपेक्षित भएकोप्रति गम्भीर चासो व्यक्त गरिएको छ। विशेषतः कालापत्थरमा भएको मन्त्रिपरिषद् बैठक, कोप २८ को उच्चस्तरीय सहभागिता, तथा महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण जस्ता महत्वपूर्ण प्रयासहरू सगरमाथा संवादको औपचारिक दस्तावेजमा समेटिन नसकेको विषयमा असन्तोष जनाइएको छ।
ध्यानाकर्षण पत्रमा संवादको तयारीलाई समावेशी र पारदर्शी बनाउन तीन मुख्य सुझावहरू प्रस्तुत गरिएका छन्—पहिलो, विगतका योगदानहरूको सम्मानजनक समावेश; दोस्रो, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विज्ञ, निजी क्षेत्र तथा जनसाधारणको सहभागिता सुनिश्चित गर्दै साझा स्वामित्व निर्माण; र तेस्रो, संवाद अवधारणा निर्माणमा पारदर्शी प्रक्रिया तथा राष्ट्रिय सहमति कायम गर्दै नेपालको जलवायु नीति तथा अन्तर्राष्ट्रिय छविलाई मजबुत पार्ने उपायहरूको सुनिश्चितताको माग गरिएको छ ।
ध्यानाकर्षणपत्र लिएपछि प्रधानमन्त्री ओलीले सगरमाथा संवाद कार्यक्रम सबै दलहरूको साझा चासोको विषय भएको भन्दै कुनै एक दल वा सरकार पक्षको मात्र कार्यक्रम नबन्ने स्पष्ट पारेका थिए । उनले कार्यक्रमलाई सफल बनाउन सबै राजनीतिक दल तथा सरोकारवाला निकायहरूसँग संवाद गर्दै सहभागिता सुनिश्चित गरिने बताए । ध्यानाकर्षण पत्र बुझाएपछि सोही दिन सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विभाग प्रमुख सापकोटा , सदस्य यज्ञनाथ दाहाल र कृष्ण वस्तीले ध्यानाकर्षणपत्र र सगरमाथा संवादबारे विभागको आधिकारिक धारणा सार्वजनिक गरेका थिए।
पत्रकार भेटघाटमा वक्ताहरूले सगरमाथा संवाद कार्यक्रमलाई समावेशी, पारदर्शी, वैज्ञानिक तथा सहमतिपूर्ण ढंगले सम्पन्न गर्न सरकारलाई आग्रह गरे। उनीहरूले संवाद कार्यक्रम नेपाली जनताको आवाजको प्रतिनिधित्व गर्ने राष्ट्रिय मञ्च हुनुपर्ने धारणा व्यक्त गर्दै, नेपालको जलवायु कूटनीतिमा यसले कोसेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरे।
नेपालको हिमाल, जलवायु परिवर्तन र मानव भविष्यसँग जोडिएको संवेदनशील विषयमा आयोजना हुन लागेको सगरमाथा संवाद कार्यक्रमलाई राष्ट्रिय हितमा सफल बनाउन नेकपा (माओवादी केन्द्र) को वन, वातावरण तथा जलवायु विभागले दिएको सुझाव तथा चासोहरू सरकारले गम्भीरताका साथ लिने अपेक्षा गरिएको सापकाेटाले विश्वास व्यक्त गरे। विभागले प्रस्तुत गरेका सुझावहरू नेपालको जलवायु नीति, अन्तर्राष्ट्रिय पहिचान र कूटनीतिक प्रभावकारिताका लागि सशक्त आधार बन्ने विश्वास गरिएको छ।