६ वैशाख, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले सुकुटे क्षेत्रलाई आज औपचारिक रूपमा पर्यटकीय क्षेत्र घोषणा गर्ने तयारी गरेको छ। नगरपालिकाको आयोजनामा आज शनिबार सुकुटेस्थित भोटेकोसी भ्यु रिसोर्टमा विशेष कार्यक्रम आयोजना गरी औपचारिक घोषणा गरिनेछ।
नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार, संविधानले दिएको साझा अधिकारको प्रयोग गर्दै सुकुटे क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने लक्ष्यसहित यो कार्यक्रमको आयोजना गर्न लागिएको हो। कार्यक्रम उद्घाटन निवर्तमान सभामुख एवं सोही नगरका बासिन्दा समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले गर्ने तय भएको आयाेजकले जानकारी दिएका छन् । सिन्धुपाल्चोकबाट संसदमा तीन पटक जनप्रतिनिधिका रूपमा प्रत्यक्ष निर्वाचित सापकोटाले सुकुटे पर्यटन प्रवर्धनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
सुकुटे हाल र्याफ्टिङ, नदी किनारको रमणीय वातावरण, रिसोर्ट सेवा, पहुँचयोग्य भौगोलिक स्थिति र विविध मनोरञ्जनात्मक गतिविधिहरूका कारण लोकप्रिय गन्तव्यको रूपमा स्थापित भइसकेको छ। विशेषतः अरनिको राजमार्गसँगै र सुनकोसी नदीको किनारमा अवस्थित यस क्षेत्र पर्यटकहरूका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यको रूपमा विकास हुँदै गएको छ। हाल सुकुटे करिडोरमा करिब दुई दर्जन रिसोर्ट तथा पर्यटन सेवाप्रदायक संस्थाहरू सञ्चालनमा छन्।
चौताराका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले आफू निर्वाचित भएपछि सुकुटे करिडोरको पर्यटन प्रवर्धन योजना निर्माण, सुकुटे क्षेत्रको सरसफाई र सुरक्षा सम्बन्धी योजना अघि सारेका थिए। आफैं सहभागी भएर सफाई अभियान सुरु गरेका उनले यस कार्यकालमा सुकुटे करिडोरलाई पर्यटकीय क्षेत्रको रूपमा घोषणा गर्न नेतृत्व लिए । यस कार्यका लागि जिल्लाबाट संघीय सांसद माधव सापकोटा, बागमती प्रदेश सदस्यहरू युवराज दुलाल, सरल सहयात्री, अमृता नेपाललगायतका नेताहरूले सहजीकरण गरेका थिए।
नगरपालिकाले सुकुटे करिडोर क्षेत्रको पूर्वाधार विकास, सेवा विस्तार र व्यवस्थापनलाई ध्यानमा राख्दै योजनाबद्ध रूपमा विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। शनिबार हुने औपचारिक घोषणा कार्यक्रमपछि सुकुटे क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा पर्यटन प्रवर्धन गर्नका लागि रणनीतिहरू अघि सारिने जनाइएको छ। कार्यक्रममा सरोकारवाला निकाय, पर्यटन व्यवसायी, सञ्चारकर्मी, राजनीतिक प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।
सुकुटे क्षेत्र राजनीतिक कारणले पनि पटक–पटक चर्चामा रहँदै आएको छ। माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष प्राथमिकतामा पर्ने यस क्षेत्रमा २०८१ माघ १ गतेदेखि सुरु भएको सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन पनि अध्यक्ष प्रचण्डले गरेका थिए। उनले सुकुटे क्षेत्रको विकासमा आफूले निरन्तर सक्रिय भूमिका खेलेको स्मरण गर्दै हाल व्यवसायिक रूपमा फस्टाइरहेको यस करिडोरलाई आधिकारिक रूपमा पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिएका थिए।