‘सुकुटे’ पर्यटकीय क्षेत्र घोषित, १५ बुँदे योजना सार्वजनिक

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले सुकुटे करिडोरलाई औपचारिक रूपमा पर्यटकीय क्षेत्र घोषणा गरेको छ।

६ वैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले सुकुटे करिडोरलाई औपचारिक रूपमा पर्यटकीय क्षेत्र घोषणा गरेको छ। शनिबार सुकुटेमा आयोजित विशेष कार्यक्रममा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा उक्त घोषणा गरिएको हो।

समारोहमा जनप्रतिनिधि, नगरपालिकाका पदाधिकारी, पर्यटन व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा २०८१ पुस २८ गतेको नगर सभाको निर्णय तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९(३०) अनुसार सुकुटेलाई पर्यटकीय हवको रूपमा विकास गर्न दीर्घकालीन गुरुयोजना अघि सारिएको जानकारी गराइएकाे थियो । घोषणापछि आयोजित सभामा प्रमुख अतिथि सापकोटाले पर्यटनको विकासले समाजवादको आधार निर्माणमा टेवा पुर्‍याउने बताए। उनले भने, “समाजवादको अर्थ सबैका लागि समृद्धि हो र त्यसका लागि रोजगारी सिर्जना अनिवार्य छ।” सापकोटाले स्थानीय उत्पादनको खपत, सुकुटेको जलविहार र पर्यावरणीय विशेषता उपयोग गरी यस क्षेत्रलाई बहुआयामिक पर्यटकीय गन्तव्य बनाउने खाका प्रस्तुत गरे।

बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री युवराज दुलालले सुकुटे क्षेत्रको यो घोषणा सिन्धुपाल्चोकलाई पूर्णरूपमा पर्यटकीय जिल्ला बनाउने दिशातर्फको सुरुआत भएको बताए। नगर प्रमुख कृष्णप्रसाद सापकोटाले १५ बुँदे योजना सार्वजनिक गर्दै सुकुटेको पर्यटन विकासका लागि हरेक वर्ष बजेट विनियोजन गरिने, पूर्वाधार निर्माणमा प्राथमिकता दिइने र स्थानीय उत्पादनको खपत प्रोत्साहित गरिने प्रतिबद्धता व्यक्त गरे। नगर उपप्रमुख सीता थापाले नगरसभाबाट लिइएका नीतिगत योजनाहरू कार्यान्वयन गर्दै सुकुटेलाई पर्यटनमय बनाउने जानकारी दिइन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठप्रसाद सापकोटाले लामो छलफल, प्रक्रिया र तयारीपछि यो घोषणा सफल भएको उल्लेख गरे। सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले यस घोषणाले जिल्लाको पहिचान निर्माणमा महत्वपूर्ण टेवा पुर्‍याउने बताए। सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले सुकुटेलाई पर्यटकीय क्षेत्र घोषणा गरिनु गौरवको विषय भएको बताउँदै, संघले अब नगरपालिकासँगको सहकार्यमा योजना कार्यान्वयन गर्ने जानकारी दिए। पूर्वसचिव पुन्यप्रसाद न्यौपानेले नगरपालिकाको निर्णयप्रति धन्यवाद ज्ञापन गर्दै यसलाई ऐतिहासिक निर्णयको रूपमा व्याख्या गरे। पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष ध्रुव दंगालले यो उपलब्धिको श्रेय माओवादी आन्दोलन, विशेषगरी अध्यक्ष प्रचण्डलाई पनि जाने धारणा व्यक्त गरे। स्वास्थ्यमा समस्या आएपछि क्षै न ‍१ सांसद माधव सापकाेटाले भने शुभकामना सन्देश पठाएका थिए । घोषणाले पर्यटन क्षेत्रमा लगानी बढ्ने विश्वास गरिएको छ ।

सुकुटे पर्यटकीय क्षेत्र घोषणा कार्यक्रम

चौतारा साँगाचोकगढी नगरपालिकाको मिति २०८१ पौष २८ गतेको नगर सभाको निर्णय, स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ९ को उपदफा ३ बमोजिम सुकुटेलाई पर्यटकीय हवको रुपमा विकास गर्न अल्पकालिन र दीर्घकालिन गुरुयोजना सहित अघि बढ्न दिशा निर्देश गर्न सुकुटे पर्यटकीय क्षेत्र घोषणा गरिएको छ ।

१. सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन २०७६ फागुनमा सम्पन्न प्रथम सुकुटे महोत्सव, पर्यटन व्यवसायीसँग नगरपालिकाको पटक पटक छलफल, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको संयोजनमा २०८१ मा भएको राष्ट्रिय विच भलिबल प्रतियोगितामा भएका निचोडहरुलाई समेत आधार मानी यो निर्णय गरिएको हो।

२. होटल, रिसोर्ट तथा पर्यटनसंग सम्वन्धित व्यवसायलाइ दिगो संचालनका लागि नीति निर्माण गरी स्थानीयतह मार्फत नियमन गरिनेछ । सुकुटे क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास गर्न आगामी नगर सभाबाट कानून निर्माण गरी सुकुटे पर्यटन विकास समिति गठन गरी उक्त समितिलाई पर्यटन शुल्क उठाउने र त्यसलाई सुकुटेको पर्यटकीय पूर्वाधार विकासमा खर्च गर्न पाउने गरी व्यवस्था गरिनेछ ।

३ प्रत्येक वर्ष नगरपालिकाले बजेट विनियोजन गरी सुकुटे क्षेत्रको पर्यटन पूर्वाधार निर्माण गर्नेछ ।

४ सुकुटेमा कृषि संकलन केन्द्र निर्माण गरी र आसपासका क्षेत्रका कृषिजन्य बस्तु संकलन गरी कृषकका उत्पादन संकलन गरी सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको समन्वयमा सुकुटे क्षेत्रका होटल तथा रिसोर्टमा खपत गराइने नीति लिइनेछ ।

५. नदी संरक्षण र पर्यटनलाई व्यवस्थित गर्न करिडोर हरियाली अभियान सहित जैविक विविधता र पर्यावरण संरक्षण गरिनेछ साथै निश्चित क्षेत्रलाई ऱ्याफ्टिङ्ग जोनको रुपमा विकास गरी नदीजन्य उत्खननलाई वैज्ञानिक व्यवस्थापन गरिनेछ ।

६ स्थानीयकला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिनेछ, साथै होटल तथा रिसोर्टका मेनुमा पनि स्थानीय परिकारलाई समावेश गरिनेछ ।

७ व्यवसायीको लगानी सुरक्षित गर्न लगानी मैत्री वातावरण सिर्जना गरिनेछ । विशेष गरी लगानीका लागि चाहिने सुरक्षा र विश्वासको परिस्थिति बनाइनेछ ।

८ सुकुटे जलविहारको सुन्दर हव भएकाले यसलाई आधार मानेर नगरपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको प्याकेज तयार गरी प्रचार प्रसार गरिनेछ ।

९. पर्यटकीय क्षेत्रमा आवश्यक पुर्वाधारहरु जस्तैः वञ्जीजम्प, स्काई साइक्लिङ, जिपलाईनहरु निर्माण गरी पर्यटकहरुलाई थप समय यस क्षेत्रमा व्यतित गर्ने व्यवस्था गरिनेछ ।

१०. छिमेकी पालिका सुनकोशी, बलेफी र जुगलको साझेदारीमा पर्यटकीय पूर्वाधारहरु विकास गर्न पहल गरिनेछ ।

११. पर्यटन सूचना केन्द्र निर्माण गरी नगरपालिकाका पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउने व्यवस्था गरिनेछ ।

१२. सुकुटे क्षेत्रको सुरक्षालाई ध्यानमा राखी नगर प्रहरीको व्यवस्था गरिनेछ ।

१३. जुगल हिमाल लगायत जिल्लाका अन्य पर्यटकीय क्षेत्रका प्रवेशद्वारका रुपमा सुकुटे क्षेत्रलाई प्रवर्द्धन गरिनेछ ।

१४. बलेफीमा पर्यटन विभागको सहयोगमा निर्माणाधिन ऱ्याफ्टिङ्ग विद्यालयको निर्माण समयमा नै सम्पन्न गरी दक्ष जनशक्ति उत्पादन गर्न स्थानीय सरकारले समन्वय गर्नेछ ।

१५. सुकटे क्षेत्रमा पर्यटन प्रवर्द्धनका एकीकृत कार्यक्रम अघि बढाउन सरोकारवाला सबैको सामुहिक प्रयासमा जोड दिइनेछ ।

कृष्ण प्रसाद सापकोटा

नगर प्रमुख

मितिः २०८२ वैशाख ०६ गते, शनिवार

प्रतिक्रिया