

२०८२ ९ वैशाख,काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘हतास मानसिकतामा रहेको’ बताउँदै उनको नेतृत्वको सरकारलाई ‘नैतिक आधार गुमाइसकेको’ ठहर गरेको छ। बुधबार पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री ओलीबारे यस्ताे टिप्पणी गरेका हुन् ।
सापकोटाले प्रधानमन्त्रीलाई ‘निभ्दै गरेको बत्ती’ को संज्ञा दिँदै भने, “आफ्नो गुम्न लागेको साखलाई कतैबाट परालको त्यान्द्रोले जोगाउन सकिन्छ कि भनेजस्तो गरेर लाग्न खोज्नु भएको छ प्रधानमन्त्री। यो एकप्रकारको हतास मानसिकताको उपज हो। अहिले हेर्नुहुन्छ भने उहाँ सबैसित रिसाइरहनु भएको छ – आफ्नै पार्टीका नेतासँग, कर्मचारीसँग।” उनले प्रधानमन्त्री ओलीले आफ्नै पार्टीप्रति समेत विश्वास गुमाइसकेको टिप्पणी गरे। “उहाँले हिजो नेतृत्वप्रति आत्मविश्वास नभएको भनेर आफ्नै पार्टीलाई प्रश्न गर्नुभयो। अरुलाई त गाली गरिरहनु भएको थियो, अब आफ्नै पार्टीलाई पनि गाली गर्न थाल्नुभयो,” सापकोटाले भने।
सापकोटाले ओली नेतृत्वको सरकार पूर्ण रूपमा असफल भइसकेको दावी गर्दै एक दिन पनि सत्तामा रहने नैतिक आधार नरहेको बताए। “यो सरकार असफल भइसक्यो। यो गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीत बनेको हो। यसले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन,” उनले भने।

