२१ वैशाख, सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भोटेकोशी गाउँपालिका समितिको तेस्रो गाउँ सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले पासाङ शेर्पालाई अध्यक्षमा चयन गर्दै ४१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
नवगठित समितिमा उपाध्यक्षमा लक्ष्मी प्रधान, राजकुमार श्रेष्ठ र रविन्द्र पौडेल चयन भएका छन्। सचिवमा कैलाश रजैली, सह–सचिवमा हिरा प्रधान र कोषाध्यक्षमा खोपकाजी श्रेष्ठ रहेका छन्। कार्यसमितिमा अन्य ३४ जना सदस्य चयन भएकाे जिल्ला निर्वाचन प्रमुख राजेन्द्र शर्मा बजगाइले जानकारी दिए ।
नव-निर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै प्रमुख अतिथि प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ ले पार्टीलाई अझ सुदृढ, संगठित र जनमुखी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे। उनले पार्टीभित्र एकता कायम गर्दै आगामी निर्वाचनमा एकल विजय हासिल गर्ने गरी तयारी थाल्नुपर्नेमा जोड दिए। सम्मेलनमा विशेष अतिथि बागमती प्रदेशसभा सदस्य तथा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, प्रदेशसभा सदस्य एवं केन्द्रीय सदस्य अमृता नेपाल, फ्याक्सन इन्चार्ज टी.एन. सापकोटा, क्षेत्र इन्चार्ज चन्द्र सापकोटा लगायत नेताहरूको उपस्थितिमा शुभकामना मन्तव्यहरू राखिएको थियो।
वक्ताहरूले भोटेकोशी गाउँपालिकामा पार्टी संगठन मजबुत बनाउन साझा संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले पार्टी एकढिक्का रहेको र कुनै गुटबन्दी वा विवाद नरहेको भन्दै विश्वास दिलाउन प्रयास गरे। यस्तै, सम्मेलनकै अवसर पारेर विभिन्न दल परित्याग गरी दर्जनौं कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा औपचारिक प्रवेश गरेका छन्। पार्टीमा प्रवेश गर्ने नवप्रवेशीलाई स्वागत गर्दै नेताहरूले माओवादी केन्द्रप्रतिको जनविश्वास दिनप्रतिदिन बढ्दै गएको बताए।