बलेफी १ र ३ जोड्ने बोक्से खोला झोलुङ्गे पुल उद्घाटन

जिल्लाको बलेफी गाउँपालिकामा वडा नं. १ को कात्तिके र वडा नं. ३ को बिसौना जोड्ने बोक्से खोला झोलुङ्गे पुलको आज एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको छ।

२३ बैशाख, सिन्धुपाल्चोक – जिल्लाको बलेफी गाउँपालिकामा वडा नं. १ को कात्तिके र वडा नं. ३ को बिसौना जोड्ने बोक्से खोला झोलुङ्गे पुलको आज एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको छ।

जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं.१ का स‌ंघीय सांसद माधव सापकोटा ‘सुबोध’को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, अमृता नेपाल ‘प्रभा’ र बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा माओवादीका नेता कार्यकर्ता र स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै संघीय सांसद सापकोटाले भौतिक पूर्वाधार विकासमा स्थानीय तह, प्रदेश र संघीय सरकारको सहकार्य महत्वपूर्ण हुने धारणा राखे। यस्ता विकास निर्माणका कार्यले समुदायलाई जोड्नुका साथै सामाजिक र आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो। बागमती प्रदेश सभा सदस्य द्वय पौडेल र नेपालले विकास निर्माणका काममा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । बलेफी गाउँपालिकाका अध्यक्ष तामाङले पुल निर्माणमा सहयोग गर्ने सबै निकायहरूलाई धन्यवाद दिँदै आगामी दिनमा थप विकास निर्माणका कार्य जारी रहने विश्वास व्यक्त गरे।

यो पुल निर्माणले यी दुई वडाका बासिन्दाहरूलाई आवतजावतमा सहजता ल्याउनुका साथै स्थानीय व्यापार, शिक्षा र स्वास्थ्य सेवामा सहजता हुने स्थानीय हरि पौडेलले बताए। विशेषगरी बर्षायाममा बोक्से खोलाको बहाबका कारण यी दुई वडाबीचको आवागमन कठिन हुने गरेकोमा यो पुलले स्थानीयवासीका लागि ठूलो राहत दिने पौडेलले जानकारी दिए। झोलुङ्गे पुलले विशेषगरी भौगोलिक रूपमा विकट क्षेत्रमा बसोबास गर्ने जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्दछ। यस्ता पूर्वाधारहरूको निर्माणले स्थानीयलाई सहजताका साथै ग्रामीण अर्थतन्त्रलाई गति दिन एवं शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरूमा पहुँच बढाउन सहयोगी सावित हुँदै आएका छन्। माओवादीबाट गाउँपालिका अध्यक्षको नेतृत्व भएपछि बलेफी गाउँपालिकामा यस्ता विकास निर्माणका कार्यहरू निरन्तर भइरहेका छन्।

यसैबीच बलेफी गाउँपालिकाले वडा नं. १ स्थित ठाँटीकुना तामाङ वस्तीमा भाँडाकुँडा हस्तान्तरण गरिएको छ। यो सहयोगले स्थानीय समुदायको दैनिक जीवनयापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया