२४ वैशाख, काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलविद्युत् आयोजनाहरूका आईपीओ प्रक्रियामा धितोपत्र बोर्डले कमिसन मागेको आरोप सार्वजनिक भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमार्फत धारणा राख्दै सांसद सापकोटाले ऊर्जा उत्पादक संघ (इप्पान) का पदाधिकारीहरूकै भनाइ उद्धृत गर्दै साना जलविद्युत् आयोजना समूहसँग ५ प्रतिशत र ठूला आयोजनासँग ७ प्रतिशतसम्म कमिसन मागिएको बताए ।
“हिजो र आज प्रकाशित समाचारहरू अनुसार, कमिसनकै कारण २२ महिनादेखि ४३ वटा जलविद्युत् आयोजनाका ८९ कम्पनीको ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार १३२ रुपैयाँ बराबरको आईपीओ प्रक्रिया रोकिएको छ,” सापकोटाले भने, “आज केही मिडियामा त इप्पानका अध्यक्ष र सदस्यहरूले समेत खुलेरै धितोपत्र बोर्डले साना आयोजना समूहसँग ५ प्रतिशत र ठूला आयोजना समूहसँग ७ प्रतिशत कमिसन मागेको विषयमा धारणा राख्नुभएको छ। यस्तो अवस्था अत्यन्तै गम्भीर र दुःखदायी हो।”
सांसद सापकोटाले यसप्रति माओवादी केन्द्रको तर्फबाट दुख व्यक्त गरे । उनले यस विषयमा उपयुक्त प्रकृतिको संसदीय समिति गठन गरी यथाशीघ्र छानबिन अघि बढाउन आग्रह गर्दै सभामुखमार्फत सरकारको नाममा रुलिङ माग गरेका छन्।