किसानलाई मल र दूधको बक्यौता तत्काल उपलब्ध गराउन सांसद सापकोटाको माग

सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटाले किसानलाई समयमै पर्याप्त रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

२५ वैशाख, काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटाले किसानलाई समयमै पर्याप्त रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद सापकोटाले मुख्य बाली धान रोप्ने तयारी भइरहेका बेला किसानहरूले मलको अभाव झेल्नुपरेको बताए। उनले कोटा प्रणालीमार्फत हुने मल वितरण व्यवहारिक र सहज नभएको उल्लेख गर्दै, किसानले माग अनुसार मल नपाउने अवस्था अन्त्य गर्न गम्भीर ध्यानाकर्षण गराएका हुन् । “हरेक वर्ष जब मुख्य बाली धान रोप्न तयारी हुन्छ, किसानले समयमा पर्याप्त मल पाउँदैनन्,” सांसद सापकोटाले भने, “कोटा प्रणाली व्यवहारिक छैन, किसानले ५० किलो माग गर्दा मुस्किलले ५ किलो मात्रै पाउँछन्।”

उनले विगत ६ महिनादेखि किसानले बिक्री गरेको दूधको रकम डिडिसिबाट भुक्तानी हुन नसकेको विषय पनि उठाए। “किसानले बेचिसकेको छ महिना यताकाे दूधको पैसा अझै भुक्तानी भएको छैन,” उनले भने, “सरकार र विशेषगरी कृषि मन्त्रालयले यस विषयमा गम्भीर ध्यानाकर्षण गराउँछु । ”सापकोटाले सरकारको नीति तथा कार्यक्रमको बुँदा नं. १६ मा किसानमैत्री कार्यक्रम उल्लेख भए पनि व्यवहारमा किसानहरू सन्तुष्ट नभएको गुनासोसमेत बैठकमा सुनाए।

सम्बाेधनकाे पूर्णपाठ

‘सभामुख महाेदय, हरेक वर्ष जब मुख्य बाली धान रोप्न तयारी हुन्छ, किसानले समयमा पर्याप्त मल पाउँदैनन, कोटा प्रणाली मार्फत मल वितरण हुन्छ तर त्यो व्यवहारीक र सहज छैन, किसानले ५० किलो मल माग गर्दा मुस्किलले ५ किलो मात्रै पाउँछन्, सरकारको नीति तथा कार्यक्रमको बुँदा नं १६ मा ज्यादै लोकप्रिय प्रकारको कार्यक्रम अगाडि सारिएको छ तर हामी किसानकहाँ जाँदा किसानहरुले यो सरकार किसानमैत्री भएन भनेर गुनासो गर्नुहुन्छ । त्यसैले म मुख्यबाली धानको तयारी हुँदै गर्दा पर्याप्त मात्रामा मलको उपलब्धता गराउने र ६ महिना देखि किसानले बेचेको दुधको पैसा डिडिसिले भुक्तानी गर्न सकेको छैन, यस दिशामा नेपाल सरकार र खासगरी कृषि मन्त्रायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु । धन्यवाद लालसलाम ।

प्रतिक्रिया