बुद्धजयन्तीमा बलेफी ५ मानेडाँडा बुद्ध पार्कको चर्चा

२५ सय ६९औँ बुद्ध जयन्तीको अवसरमा बलेफी गाउँपालिका वडा नं. ५, बिन्जेल लामाटोलमा निर्माण सम्पन्न मानेडाँडा संरक्षण तथा बुद्ध पार्कको चर्चा चुलीएको छ ।

२९ वैशाख, सिन्धुपाल्चोक । २५ सय ६९औँ बुद्ध जयन्तीको अवसरमा बलेफी गाउँपालिका वडा नं. ५, बिन्जेल लामाटोलमा निर्माण सम्पन्न मानेडाँडा संरक्षण तथा बुद्ध पार्कको चर्चा चुलीएको छ । औपचारिक रूपमा उद्घाटन हुन बाँकि रहे पनि पार्कले स्थानीय तथा वाह्य पर्यटकको ध्यान खिचेको छ । पार्क निर्माणका लागि बलेफी गाउँपालिकाबाट ५ लाख ५० हजार रुपैयाँ र बागमती प्रदेश सरकारबाट १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

स्थानीय पर्यटन प्रवर्द्धन तथा धार्मिक आस्थाको संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त पार्कले स्थानीय बासिन्दा तथा पर्यटकहरूका लागि शान्ति र ध्यान केन्द्र बन्ने विश्वास गरिएको छ।

पार्क निर्माणमा योगदान पुर्‍याउने बागमती प्रदेश सभा सदस्यहरू सरलसहयात्री पौडेल, अमृता नेपाल तथा बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङप्रति गाउँवासीले विशेष धन्यवाद दिएका छन्।
स्थानीय नागरिकले बुद्धजयन्तीको अवसर पारेर पार्क चर्चा हुनुलाई शुभ संकेतका रूपमा लिएका छन्। स्थानीयले शान्ति, सहिष्णुता र समृद्धिको बाटोमा अग्रसर हुन बुद्धका शिक्षाहरू अनुसरण गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया