४ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुई स्थानीय तह सुनकोशी र लिसंखु पाखर गाउँपालिकाले निलम्बित सांसद मोहन बस्नेतको सहभागितामा आयोजना हुन लागेको उद्घाटन कार्यक्रम रोक्न गम्भीर चेतावनी दिएका छन्।
अदालतमा भ्रष्टाचार मुद्दाका अभियुक्त बस्नेतले सुनकोशी गाउँपालिका–२ ठोकर्पास्थित नव निर्मित स्वास्थ्य चौकी भवन र लिसंखु पाखर गाउँपालिका वडा नं. २ निगालेमा सम्पन्न निगाले–नारगाउँ खानेपानी आयोजना उद्घाटन गर्ने तयारी गरिरहेको सूचनाका आधारमा पालिकाहरूले सार्वजनिक आपत्ति जनाएका हुन्। बस्नेतमाथि टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ साल जेठ १ गते विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुद्दा दर्ता भएसँगै उनी स्वतः निलम्बित अवस्थामा रहेका छन्। यस्तो अवस्थामा उनी सहभागी हुने उद्घाटनजस्ता कार्यक्रमहरू सार्वजनिक आचरण, नीतिगत मर्यादा तथा स्थानीय तहको संवैधानिक अधिकार विपरीत हुने भन्दै कार्यक्रम स्थगन गर्न दुबै पालिकाले औपचारिक विज्ञप्ति मार्फत आग्रह गरेका हुन्।
सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य चौकी भवन उद्घाटन संविधान बमोजिम स्थानीय तहको अधिकारको विषय भएकाले पालिकाको निर्णयविना यस्ता गतिविधि स्वीकार नहुने बताएका छन् । उनले भ्रष्टाचार मुद्दामा मुछिएको व्यक्तित्वको सहभागिता अवाञ्छनीय रहेको भन्दै सार्वजनिक आचरणमा प्रश्न उठाउने कार्य स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
लिसंखु पाखर गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा निगाले–नारगाउँ खानेपानी आयोजना राष्ट्रिय विशेष योजना अन्तर्गत पारित भई निर्माण सम्पन्न भएको उल्लेख गरिएको छ। आयोजनाका बारेमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै, अध्यक्ष राजु लामाले भ्रष्टाचार अभियोगमा मुछिएका व्यक्तिको सहभागिता स्वीकार नहुने बताएका छन् । गाउँपालिकाले सो आयोजना निर्माणमा कुनै भूमिका नखेलेका, जननिर्वाचित, जनप्रतिनिधि नभएका तथा निलम्बित सांसदको सहभागिता सार्वजनिक कार्यक्रममा हुनु नीतिगत, कानुनी तथा संवैधानिक मर्यादाको गम्भीर उल्लंघन हुने बताएको छ।
यसैबीच, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै भ्रष्टाचार मुद्दामा मुछिएका व्यक्तिको सहभागितामा हुने कार्यक्रम अस्वीकार्य रहेको बताएका छन्। उनीहरूले कानुनी प्रक्रिया अगाडि बढिरहेका बेला सार्वजनिक जिम्मेवारी बोकेका निकायहरूले शुद्धता र उत्तरदायित्वमा कडाइ अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै विवादास्पद व्यक्तित्वको उपस्थिति रहेको कार्यक्रम तुरुन्त स्थगन गर्न माग गरेका छन्। एमाले सुनकोशी अध्यक्षा रामहरी खड्का र माओवादी सुनकोशी अध्यक्षा मिम बहादुर योञ्जनद्वारा हस्ताक्षरीत विज्ञप्तीमा कार्यक्रम गर्न खोजे कडा प्रतिकार गर्ने चेतावनी दिइएको छ ।