

४ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तिब्बतबाट सिन्धुपाल्चोक हुँदै बग्ने भोटेकोशी किनारका बासिन्दालाई सतर्क हुन तर नआत्तिन आग्रह गरेको छ ।
असार ३ गतेदेखि ७ गतेसम्म चिनियाँ भू–भागमा पर्ने भोटेकोसी नदी क्षेत्र आसपास भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन जिल्ला प्रशासनले सूचना निकालेर आग्रह गरेपछि विभागले अर्को सूचना जारी गरेको हो । चिनियाँ प्रहरी कार्यालयबाट प्राप्त सूचनाका आधारमा भोटेकोसी र सुनकोसी नदी आसपासका क्षेत्रहरू भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोसी गाउँपालिका, वलेफी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका लगायतका बासिन्दालाई बाढीको जोखिम हुन सक्ने भन्दै सावधानी भने अपनाउन भनिएको छ।
विभागले हालको भू–उपग्रह तथा मौसम प्रक्षेपण र प्राप्त तथ्यांकका आधारमा नेपालतर्फको जलवायु क्षेत्र पनि कमजोर मनसुनी प्रणालीको प्रभावमा रहेकाले हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। यद्यपि, मनसुनको प्रभाव कायमै रहेको कारण मौसम र बाढीको निरन्तर निगरानी गरिरहेको र आवश्यकता अनुसार थप सूचनाहरू पनि सार्वजनिक गरिने विभागले स्पष्ट पारेको छ।


