

२० असार, सिन्धुपाल्चोक । पटक–पटकको विपत्तिपछि लामो समय बन्द रहँदै ठूलो मेहनतले पुनः सञ्चालनमा आएको नेपाल–चीन व्यापारिक तातोपानी नाकाबाट पहिलो पटक हेलिकोप्टर आयात गरिएको छ।
यसअघि विभिन्न इलेक्ट्रोनिक सामग्री, लत्ताकपडा, फलफूल र अन्य सवारीसाधन मात्र आयात हुँदै आएको यस नाकाबाट अब हेलिकोप्टरजस्ता प्राविधिक र उच्च मूल्यका सामग्री पनि भित्रिन थालेका छन्, जसले नाकाको थप महत्व बढाएको छ।
आडो ट्रान्सपोर्ट कम्पनीले ४० फिटे टेलरमा राखी चीनबाट हेलिकोप्टर तातोपानी नाका हुँदै नेपाल भित्र्याएको हो। फ्रान्सेली कम्पनी ‘एयरबस’ द्वारा उत्पादन गरिएको उक्त हेलिकोप्टर चीनको ‘तियान जिन’ सहर हुँदै कन्टेनरमार्फत ल्याएर तातोपानी भन्सारको सुक्खा बन्दरगाहमा ओरालिएको हो।
भूकम्पपछि चिनियाँ सहरहरूबाट सामग्री आयात गर्दै आएको कम्पनीले ‘माउन्टेन हेलिकोप्टर’ नामक कम्पनीका लागि हेलिकोप्टर खरिद गरेको हो। उक्त हेलिकोप्टर तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको हो। माउन्टेन कम्पनीले खरिद गरेका पाँचवटै चिनियाँ हेलिकोप्टर तातोपानी नाका हुँदै काठमाडौं ल्याइने जनाइएको छ।
तातोपानी भन्सारका सूचना अधिकृत सूर्य काफ्लेले हेलिकोप्टरको मूल्यअनुसार राजस्व संकलन हुने जानकारी दिए। उनका अनुसार ४ करोड १२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेर भन्सार जाँचपास गरिनेछ। त्यसपछि प्राविधिक टोलीले हेलिकोप्टरको अवस्था जाँच गर्नेछ र आवश्यक अनुमतिपछि काठमाडौंका लागि उडाइनेछ।

