बलेफीमा शनिवार एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा शैक्षिक भविष्यबारे विशेष कार्यक्रम

सिन्धुपाल्चोक, असार २१ । जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का संघीय एवं प्रदेशसभा सांसदहरूको संयुक्त प्रयत्नमा शनिवार एसइइ पास भएका सबै विद्यार्थीहरुलाई सम्मान तथा शैक्षिक भविष्यबारे विशेष कार्यक्रम आयोजना हुने भएको छ।

क्षेत्रभरका विद्यालयहरूबाट यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान गर्ने र उनीहरूको शैक्षिक भविष्यबारे मार्गदर्शन प्रदान गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ । कार्यक्रम संघीय सांसद माधव सापकोटा ‘सुबोध’, प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल तथा अर्की प्रदेश सभा सदस्य अमृता नेपालको संयोजनमा सचिवालयको तर्फबाट आयोजना गरिएको हो।

आयोजकका अनुसार कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं. १ भित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, उत्तीर्ण विद्यार्थीहरू तथा शिक्षा क्षेत्रमा क्रियाशील सरोकारवाला संघसंस्थाहरूको सहभागिता रहनेछ। बलेफी बजारस्थित कभर्ड हलमा असार २१ गते, शनिवार बिहान ११ बजे सुरु हुने कार्यक्रमले एसईई उत्तीर्ण विद्यार्थीहरूको हौसला अभिवृद्धि गर्नुका साथै उनीहरूको शैक्षिक मार्गनिर्देशनमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, जनप्रतिनिधि र सरोकारवालाले आगामी दिनमा विद्यार्थीहरूले रोज्न सक्ने शैक्षिक तथा व्यावसायिक सम्भावनाहरूका बारेमा जानकारी दिने छन्। साथै, माध्यमिक शिक्षा पार गरेका युवाहरूको क्षमता अभिवृद्धि र लक्ष्य निर्धारणमा सघाउ पुग्नेगरी कार्यक्रम तयार गरिएको छ। विद्यार्थी, अभिभावक र विद्यालय आवद्द सबैलाई सक्रिय सहभागीता जनाउन आयोजकले अनुरोध गरेका छन्।

प्रतिक्रिया