

२ साउन, सिन्धुपाल्चोक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतमा मुद्धा दायर गरेपछि धरौटिमा छुटेका निलम्बित सांसद मोहन बस्नेतलाई प्रमुख अतिथि बनाएर जिल्ला प्रशासन कार्यालयले सार्वजनिक कार्यक्रम गरेपछि प्रमुख जिल्ला अधिकारीको चौतर्फी आलोचना भएको छ।
जिल्लामा अख्तियारको प्रतिनिधिको रूपमा रहने प्रमुख जिल्ला अधिकारीले आफैं अग्रसर भएर निलम्बित सांसदलाई प्रमुख अतिथि बनाएपछि सिन्धुपाल्चोकका सीडीओ किरण थापा विवादमा तानिएका हुन् । जिल्ला प्रशानस कार्यालयको निमन्त्रणामा भ्रष्टाचार मुद्दा खेपिरहेका व्यक्तिलाई प्रमुख अतिथि बनाएर सरकारी कार्यक्रममा उपस्थित गराएको भन्दै विरोध चुलिएपछि यसबारे गृहमन्त्रालयले समेत चासो लिएको छ । असार ३२ गतेको कार्यक्रम बारे शुक्रबार खबरहरु बाहिरिएपछि गृहले आन्तरिक अनुसन्धान सुरु गरको हो । सबै सुरक्षा अंगका प्रमुख सहित सिडियो थापा मन्चमा बसेको तस्बिर समेत सार्वजनिक भएपछि यथेष्ठ प्रमाण फेला परेको गृहका अधिकारीहरुको भनाई छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका मोहन बस्नेतसहित अन्य व्यक्तिहरूविरुद्ध टेरामक्स प्रकरणमा अनियमितता गरेको भन्दै विशेष अदालतमा गत जेठमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसपछि उनी स्वतः निलम्बित छन् । नीजि क्षेत्र वा दलले गर्ने कार्यक्रममा उपस्थित हुन सक्ने भएपनि सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइनु कानुन विपरित रहेको कानुनविद्हरुको भनाई छ ।
सिन्धुपाल्चोक प्रशासनको आयोजनामा असार ३२ गते बाह्रबिसेमा बाढीपहिरोबाट अरनिको राजमार्गमा हुन सक्ने क्षति र रसुवाबाट बढ्दो जोखिमबीच तातोपानी नाकाको सम्भावित सुरक्षाबारे छलफल गर्न सरोकारवाला प्रमुखहरूसहितको समन्वयात्मक बैठक आयोजना गरिएको थियो। पत्राचार प्रशासन कार्यालयले गरेको थियो । बैठकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, भन्सार कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, रेडक्रस, सुरक्षा संयन्त्र, स्थानीय तहका प्रमुखहरूलगायत १८ वटा सरकारी तथा गैरसरकारी निकायहरूका प्रतिनिधिहरू सहभागी थिए।
सो कार्यक्रममा अख्तियारको मुद्दा खेपिरहेका निलम्बित सांसद मोहन बस्नेतलाई प्रमुख अतिथि
बनाइएको थियो। संघीय सांसद माधव सापकोटा र प्रदेशसभा सदस्यहरूलाई भने कार्यक्रममा थिएनन् ।
यसैविच नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले एक विज्ञप्ति जारी गर्दै निलम्बित सांसदलाई शिरमा बोकेको जिल्ला प्रशासन कार्यालयले शान्ति, सुरक्षा र सुशासनको खिल्ली उडाएको आरोप लगाएको छ। जिल्ला समन्वय समिति संयोजक गोविन्द पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा, यस्तो बेथितिप्रति तत्काल क्षमा माग्न चेतावनी दिइएको छ। यस्तै शुक्रबारै वाईसिएल सिन्धुपाल्चोकले सिडियो थापालाई भेट गरी अक्षम्य कार्य भएको भन्दै कर्मचारीको मर्यादा नभूल्न ध्यानाकर्षण गराएको छ ।
यस्तै घटनाप्रति आपत्ति जनाउँदै नेकपा माओवादी केन्द्र निकट युवा संगठन युवा कम्युनिस्ट लिग वाइसिएल नेपालले जिल्ला प्रशासन कार्यालयमै पुगेर सीडीओ किरण थापालाई ध्यानाकर्षण पत्र बुझाएको छ।
ध्यानाकर्षण पत्रमार्फत राजनीतिक पूर्वाग्रहका आधारमा निलम्बित व्यक्तिको सम्मान गर्ने काम अनुचित भएको, यसले राज्य संयन्त्रप्रति नागरिकको विश्वास कमजोर बनाउने चेतावनी दिइएको थियो।

