माओवादीले राम्रो गर्छन् भन्ने जनविश्वास स्थापित गर्न आवश्यक : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रका नेता–कार्यकर्ताले नेतृत्व लिएका सामाजिक संघ–संस्थाहरूमा फरकपन देखाएर "माओवादीले राम्रो गर्छन्" भन्ने जनविश्वास स्थापित गर्नुपर्ने बताएका छन्।

१३ साउन, काठमाडौं, – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रका नेता–कार्यकर्ताले नेतृत्व लिएका सामाजिक संघ–संस्थाहरूमा फरकपन देखाएर “माओवादीले राम्रो गर्छन्” भन्ने जनविश्वास स्थापित गर्नुपर्ने बताएका छन्।

माओवादी केन्द्रको समाज कल्याण विभागद्वारा म‌ंगलबार आयोजित “सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम”मा बोल्दै अध्यक्षले सामाजिक संघसंस्थामा माओवादीको सहभागिता सकारात्मक र दृष्टिकोणमै फरक हुनुपर्ने बताए। उनले बदलिँदो राजनीतिक परिस्थितिमा सामाजिक संघसंस्थाहरूमा स्पष्ट नीति, कार्यदिशा र एकरूपताका साथ संलग्न हुन जरुरी रहेको उल्लेख गरे। नेपाली समाजवादको बाटो सामाजिक संघसंस्थामा हाम्रो भूमिकाले निर्धारण गर्छ भन्दै प्रचण्डले माओवादी नेताहरू खुला रूपमा सहभागी भएर उत्कृष्ट संस्थाको अभ्यास गर्नुपर्ने बताए। उनले माओवादीको त्याग, तपस्या र परिवर्तनका लागि लडाइँको इतिहास व्यवहारमा देखिनुपर्ने आवश्यकता औंल्याए। “हामीले व्यवस्थित रूपमा योजनाबद्ध ढंगले अगाडि बढ्यौं भने स्थानीय तहमा झनै राम्रो गर्न सकिन्छ,” उनले भने।

सहकारी क्षेत्रमा देखिएको भ्रष्टाचारप्रति टिप्पणी गर्दै उनले ठूला दलहरूको परम्परागत शैलीले समस्या बढाएको बताए। “संसदवादी र दलाल पुँजीवादी सोच भएका दलहरूको प्रभावले सहकारी क्षेत्रमा ठूलो बेथिति आएको छ। त्यसैले माओवादीले नेतृत्व गरेका संघसंस्थाहरू फरक सोचसहित चल्नुपर्छ,” उनले जोड दिए।

सरकारमा हुँदा विदेशी दातृ निकायहरूबाट सामाजिक संघसंस्थामा आउने बजेटलाई राज्यको प्रणालीभित्र ल्याउने पहल गरेको स्मरण गर्दै उनले माओवादीको स्वतन्त्र र राष्ट्रिय अर्थनीति अन्य दलभन्दा भिन्न भएको बताए। यो सोचलाई तलसम्म स्पष्ट रूपमा बुझाएर माओवादी फरक छ भन्ने जनतामा स्थापित गर्नुपर्ने उनले बताए।

कार्यक्रममा विभागका अध्यक्ष सत्य पहाडीले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएकी थिइन भने राजेन्द्र शर्मा र हुकुम पोखरेलले वर्तमानमा माओवादी र सामाजिक संघसंस्थाप्रतिको धारणााबारे प्रस्तुती गरेका थिए । कार्यक्रममा माओवादीका नेतृत्वपंतिदेखि सांसदहरु सामाजिक क्षेत्रमा कार्यरत नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा संघस‌ंस्थाको नयाँ कानून निर्माणबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया