

२१ साउन काठमाडौ । सिन्धुपाल्चोक १ बाट प्रत्यक्ष निर्वाचित नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुबोधले सरकारले गर्ने सकारात्मक काममा सहयोग गर्न प्रतिपक्षी दल सधैँ तयार रहे पनि सरकार भ्रष्टाचार र अनियमितता मै व्यस्त रहेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद सापकोटाले संविधान संशोधन, सुशासन र स्थिरताको प्रतिबद्धता गर्दै गठन भएको वर्तमान सरकार असफल भएको बताए । उनले भने, ‘संविधान संशोधन, स्थिरता र सुशासनको नारा दिएको सरकारले आजको दिनसम्म पनि कसैलाई एक मिनेट बोलाएर छलफल नगर्ने ? अनि अहिले आएर लोकप्रियतावादीहरूलाई गाली गरेर के उपलब्धि हुन्छ ? राम्रो काम गरौँ न । त्यसको लागि कस्तो कागजमा हस्ताक्षर गर्नुपर्ने हो, प्रतिपक्ष तयार छ । तर काण्डैकाण्डले हुँदैन ।’
उनले पोखराको लिचीबारी जग्गा प्रकरणमा मधेसी मूलका सोझा मन्त्रीलाई पदमुक्त गरिएको तर मुख्य आरोपीलाई संरक्षण गर्ने काम भइरहेको आरोप लगाए । उनले भने, ‘संविधान संशोधन, मुलुकमा सुशासन कायम र स्थिरता दिन्छौँ भनेर गठन भएको सरकार कहाँ छ भनेर लिचीबारीसम्म आइपुग्दा देखियो । मधेसी मूलबाट आएको एउटा सोझो मन्त्रीलाई छपक्क ढालियो । चाणक्यले भनेजस्तो काटिने त अन्ततः सोझै रुख हो । अर्को एउटा बाङ्गो रुख त बाङ्गै छ । त्यो रुखलाई त राम्रो मलजल र राम्ररी संरक्षण भएको होला ।’

