गंगालाई नेपाल आइडल बनाउन जुटे सिन्धुबासी, नेतादेखि समाजसेवीसम्म एकजुट

टेलिभिजन रियालिटी शो नेपाल आइडल को छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेकी सिन्धुपाल्चोककी गायीका गंगा सोनामलाई विजयी बनाउन जिल्लावासी एकजुट भएका छन्।

१२ भदौ, सिन्धुपाल्चोक। टेलिभिजन रियालिटी शो नेपाल आइडल को छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेकी सिन्धुपाल्चोककी गायीका गंगा सोनामलाई विजयी बनाउन जिल्लावासी एकजुट भएका छन्। इन्द्रावती गाउँपालिका–१०, बडहरेकी गंगा विभिन्न चरण पार गर्दै फाइनलमा पुगेकी हुन्। उनको जितका लागि जिल्लाका राजनीतिक दलका नेतादेखि समाजसेवी, पत्रकार, निजी क्षेत्रका अगुवासम्मले भोटमार्फत सहयोग गर्न अपिल गरेका छन्।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा, नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेश सांसद युवराज दुलाललगायत नेताहरूले गंगालाई भोट गरेर विजयी बनाउन आग्रह गरेका छन्। सांसद सापकोटा लगायत नेताहरूले सामूहिक रूपमा सार्वजनिक अपिल जारी गर्दै गंगाको पक्षमा सहयोग गर्न आग्रह गरेका हुन्।

“ग्रामीण परिवेशबाट उठेर आफ्नो सुमधुर स्वर र असाधारण प्रतिभामार्फत गंगाले लाखौँ दर्शक र श्रोतालाई प्रभावित पारेकी छिन्। उनको संघर्षपूर्ण यात्रा हामी सबैका लागि प्रेरणादायी र गौरवको विषय हो,” सांसद सापकोटाले भने। त्यस्तै, एमाले नेता शेरबहादुर तामाङले भने, “दलित समुदायमा जन्मेकी गंगाले राष्ट्रिय स्तरको रियालिटी शोमा उत्कृष्ट प्रस्तुति दिएकी छन्। उनलाई जिताउन सबैले भोट गर्नुपर्छ।”

नेपाल आइडल प्रत्येक साताको शुक्रबार र शनिबार एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको छ। भदौ १५ गते काठमाडौंमा ग्रान्ड फिनाले हुने कार्यक्रम रहेको छ। इन्द्रावती गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले गाउँपालिकाले पनि गंगाको पक्षमा सहयोग गर्ने तयारी गरेको जानकारी दिए। उनका अनुसार, भदौ १३ गते कार्यपालिकाको बैठकमा यसबारे औपचारिक निर्णय गरिनेछ।

प्रतिक्रिया