

१२ भदौ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिबारदेखि चीन भ्रमणमा जाने भएका छन् । सांघाई सहयोग संगठन (एससीओ) को २५ औं शिखर सम्मेलन तथा ‘एससीओ प्लस’ बैठकमा सहभागी हुन जान लागेका प्रधानमन्त्री ओलीले सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने कार्यक्रम छ ।
भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै व्यापार पुनः सुरु गर्ने गत साता सहमति गरेको पृष्ठभूमिमा ओलीको चीन भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । भारत र चीनले गरेको सहमतिप्रति नेपालले विरोध जनाइसकेको छ । सम्मेलनको क्रममा हुने साइडलाइन बार्तामा हुने उच्चस्तरीय भेटलाई नेपाली पक्षले कसरी उपयोग गर्छ भन्ने चासो छ ।
एससीओ बैठक १५–१६ भदौमा चीनको तियानजिन सहरमा हुँदै छ । नेपाल ‘डायलग पार्टनर’ का रूपमा एससीओमा सहभागी हुन लागेको हो । नेपाल एससीओको सदस्य राष्ट्र भने होइन । ओलीले ‘एससीओ प्लस’ बैठकलाई सम्बोधन गर्नेछन् । परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीलाई भेट्ने उल्लेख छ । सम्मेलनका अवसरमा सहभागी अन्य देशका नेताहरूसँग पनि प्रधानमन्त्री ओलीको ‘साइडलाइन’ भेट हुनेछ ।
प्रधानमन्त्री ओलीले १७ भदौमा चीनका उपराष्ट्रपति हान चङसँग बेइजिङमा भेट गर्नेछन् । मन्त्रालयका अनुसार सोही दिन बेइजिङमा आयोजना गरिने जापानी आक्रमणविरुद्ध चीनको विजयको ८० औं वार्षिकोत्सव कार्यक्रममा समेत प्रधानमन्त्री ओली सहभागी हुनेछन् । गत वर्ष प्रधानमन्त्री भएपछि ओलीको यो दोस्रो चीन भ्रमण हो । गत वर्ष १७–२० मंसिरमा ओलीले चीन भ्रमण गरेका थिए ।

