

१२ भदौ, काठमाडौं । सिन्धुपाल्चोकमा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) का जिम्मेवार नेताहरू बिहीबार पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
काठमाडौंको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा एमालेका प्रदेश तथा जिल्ला तहमा महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरू इश्वरी प्रसाद श्रेष्ठ, विष्णु लामा, सिताराम गिरीलगायतले औपचारिक रूपमा माओवादी प्रवेश गरेका हुन्। सो अवसरमा राष्ट्रिय ब्याडमिन्टन खेलाडी मेखबहादुर न्यौपाने, रमेश श्रेष्ठ लगायतले पनि माओवादी प्रवेश गरे।
पार्टीमा स्वागत गर्दै माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले २०७९ को निर्वाचनपश्चात् भएको यो एकतालाई “कोसेढुंगा” को संज्ञा दिएका छन्। उनले भने, “ माओवादी अहिले मुलुककै जिम्मेवारी लिन तयार भइरहेको छ, त्यसैले प्रवेश गर्ने सबैलाई उचित जिम्मेवारी दिइनेछ।”
पार्टी प्रवेश कार्यक्रममा माओवादीका केन्द्रीय नेताहरू कृष्णप्रसाद सापकोटा, केशब नेपाल, माधव सापकोटा ‘सुबोध’, युवराज दुलाल ‘सरद’, सरल सहयात्री पौडेल, भोला सापकोटा, राजकुमार श्रेष्ठ, अमृता नेपाल ‘प्रभा’ लगायतको उपस्थिति थियो। त्यस्तै, सिन्धुपाल्चोकका गोविन्द पराजुली, झम्क पराजुली, टिएन सापकोटा, ठूलोबाबु श्रेष्ठलगायत नेताहरू पनि उपस्थित थिए। नेता सुबोधका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका–९ कदमबासका एमाले वडा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिवसहित दुई-तिहाइभन्दा बढी नेता–कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्।
एमालेमा खैलाबैला
जिम्मेवार नेताहरूले पार्टी छोडेको औपचारिक जानकारी पाएपछि एमालेभित्र भने ठूलो खैलाबैला मच्चिएको छ। फेसबुक लगायत सामाजिक सञ्जालमा कार्यकर्ताले पार्टी परित्याग गर्ने नेताहरूलाई गालीगलौज गर्दै आलोचना गरेका छन्।
कसैले पद र स्वार्थका कारण पार्टी छोडेको टिप्पणी गरेका छन् भने कतिपयले पहिले नै कारबाहीमा परेका वा निष्क्रिय रहेका व्यक्तिहरूलाई ‘नयाँ’ भनेर प्रचार गरिएको आरोप लगाएका छन्।
एमाले जिल्ला नेता सरेश नेपालले सामाजिक सञ्जालमार्फत नेताहरूको कठोर आलोचना गरेका छन्। उनले लेखेका छन्, “४ वर्षअघि नै एमाले फुटाएर अर्कै पार्टीमा लगिएका, आफैं पार्टीबाट काजमा खटिएकालाई आज काज फिर्ता घोषणा गरियो। यस्ता आत्मरतिमा रमाउनेहरूको दुश्प्रचारले पार्टीलाई केही असर गर्दैन।”
सिन्धुपाल्चोकमा इश्वरी श्रेष्ठ चौतारामा ‘खम्बा’ मानिँदै आएका थिए भने विष्णु लामा कदमबास क्षेत्रमा सक्रिय थिए। लामा यसअघि माओवादीबाट निर्वाचित वडा अध्यक्षसमेत भइसकेका थिए। उनीहरू पुनः माओवादी फर्केपछि चौताराका पूर्व मेयर तथा पुराना माओवादी नेता अमानसिंह तामाङमाथि समेत दबाब परेको बताइन्छ। हालैका वर्षहरूमा माओवादी छोडेर एमालेतर्फ गएका नेताहरू धमाधम पुरानै पार्टीमा फर्किरहे पनि अमानसिंह तामाङ र दावालामनहरू भने अहिलेसम्म मौन रहेका छन्।

