

१४ भदौ, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई विपद व्यवस्थापनसम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ । तालिम नगरको पर्यटकीय क्षेत्र सुकुटेमा शुक्रबार र शनिबार सम्पन्न भएको हो ।
नगर विपद व्यवस्थापन शाखाको आयोजनामा भएको तालिममा नगरप्रमुख कृष्णप्रसाद सापकोटा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, नगर सल्लाहकार चन्द्र सापकोटा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा सबै शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
विपद शाखा प्रमुख चिरञ्जीवी कट्टेलका अनुसार तालिम विपद जोखिम न्यूनीकरण, व्यवस्थापन, राहत, उद्धार र दीर्घकालीन पुनःस्थापनाका विषयमा केन्द्रित थियो । तालिममा पूरा समय बसेका नगरप्रमुख सापकोटाले नगरपालिकाको सबै शाखाले यो विषयलाई महत्वका साथ प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । विपद व्यवस्थापनलाई एकीकृत ढङ्गमा अघि बढाउनुपर्नेमा उनको जोड थियो। प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले प्रभावितहरुको प्राथमिकता निर्धारण गरेर महत्वका साथ काम गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमानका अध्यक्ष एवं विज्ञ सूर्यबहादुर थापा मुख्य प्रशिक्षक रहेको तालिममा सञ्जालका सचिव एवं विज्ञ श्रीधर न्यौपाने र विज्ञ गीता चिमोरियाले सह-प्रशिक्षकका रुपमा सहजीकरण गरेका थिए ।
तालिममा चौतारा साँगाचोकगढी नगरपालिकाले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८२ समेत तयार गरिएको शाखा प्रमुख कट्टेलले जानकारी दिए । जसमा विपद सूचना केन्द्र स्थापना क्यालेण्डर निर्माण सामाजिक सञ्जाल तथा एफएममार्फत सचेतना बढाउने, अर्ली वार्निङ सिस्टम स्थापनाका लागि पहल गर्ने, विद्यालयस्तरमा विपद शिक्षा समावेश गर्ने लगायतका गतिविधि समेटिएका छन्।

