प्रधानमन्त्री ओलीको चीन भ्रमण: सी जिनपिङ र मोदीसँग महत्वपूर्ण भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग औपचारिक द्विपक्षीय भेटवार्ता गरेका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छोटो भेट गरेका छन् ।

१६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणका क्रममा २५औँ शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन टियानजिनमा छन्। यसै अवसरमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग औपचारिक द्विपक्षीय भेटवार्ता गरेका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छोटो भेट गरेका छन् । यी भेटवार्ताले नेपाल–चीन र नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको विश्लेषण गरिएको छ।

शनिबार टियानजिनमा सम्पन्न ओली–सी भेटमा नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउन विभिन्न क्षेत्रका सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले विशेषगरी लिपुलेक–कालापानी क्षेत्रमा भारत–चीनबीच भएको समझदारीप्रति नेपालको असहमति स्पष्ट रूपमा राखेकाे विषयले चर्चा पाएको छ । उनले यो विषय नेपालको सार्वभौमिकतासँग जोडिएको भन्दै चीनलाई यसबारे संवेदनशील हुन आग्रह गरेकाे र राष्ट्रपति सीले भने नेपाल–भारतबीचको सीमा विवादलाई दुवै पक्षले आपसी संवादमार्फत समाधान गर्नुपर्ने धारणा राखेकाे अधिकारीहरुले जानकारी दिएका छन् ।

भेटवार्तामा दुवै नेताले पूर्वाधार विकास, ऊर्जा, व्यापार विस्तार र बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनामा सहकार्य गर्ने विषयमा जोड दिएका छन्। प्रधानमन्त्री ओलीले चीनबाट थप लगानी र प्रविधि हस्तान्तरणमा नेपालको प्राथमिकता रहेको उल्लेख गरेका थिए ।

साेही साँझ राष्ट्रपति सी र प्रथम महिला पेङ लियुआनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले सहभागी हुँदै विभिन्न मुलुकका उच्च नेतृत्वसँग सम्पर्क बढाएका थिए । सोही अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि ओलीको छोटो भेट भएको थियो। दुबै नेताबीच भएको अभिवादन र संवादलाई सकारात्मक संकेतका रूपमा लिइएको छ। मोदीले सामाजिक सञ्जालमार्फत नेपाल–भारत सम्बन्धलाई “विशेष र ऐतिहासिक” भन्दै खुशी प्रकट व्यक्त गरेका छन् भने ओलीले पनि नेपाल–भारतबीचको गहिरो सम्बन्धलाई उच्च मूल्याङ्कनको विषय उजागर गरेका छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई नेपालका लागि कूटनीतिक दृष्टिले निकै महत्वपूर्ण मानिएको छ। नेपालका दुई छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम राख्नु नेपालको विदेश नीतिको मूल आधार रहँदै आएको छ।

प्रतिक्रिया