

१६ भदौ, काठमाडौं । आफ्नाे प्रतिभामा जिल्लावासीकाे हौसला र साथ पाएपछि सिन्धुपाल्चोककी गंगा सोनाम नेपाल आइडल सिजन–६ को विजेता बनेकी छन्। आइतबार राति काठमाडौंमा सम्पन्न फाइनलमा चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात जितेकी हुन् ।
विजेता सोनामलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ट्रफी प्रदान गरे । उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ प्राप्त गरेकी छिन्। निर्णायक र दर्शकको मतका आधारमा सोनामलाई विजेता घोषणा गरिएको हो। उत्कृष्ट पाँचमा पुगेपछि उनलाई विजेता बनाउन सिन्धुपाल्चाेकका राजनीतिक एवं सामाजिक क्षेत्रका व्यक्तित्वहरु एकजुट भएका थिए । संघीय सांसद माधव सापकोटा, पुर्व मन्त्री शेर बहादुर तामाङ जिल्लाका जनप्रतिनिधिहरुका साथै स्थानीय तहका नेतृत्वदेखि समाजसेवी निजि क्षेत्र र व्यक्तिगत तवरमा पनि उनलाई सहयाेग भएको थियो । सोनाम विजेता बनेपछि खुलेर सहयाेग गरेकाहरुले खुसी व्यक्त गरेका छन् । उनलाई विजेता बनाउने अभियानमा संलग्न धिताल चिरिच्याट्टले नामले चर्चित सिन्धुका रंगकर्मी कृष्णप्रसाल धितालले ‘हाम्रो सपना पुरा भयो’ भनेर सामाजिक सञ्जालमा खुसी साटेका छ्न् । उनले जस्तै गंगाको खुसीमा खुसी साटेका छन् ।
यस सिजनमा बबिता थापा मगर फस्ट रनरअप बनेकी छिन्। उनले नगद १० लाख रुपैयाँ पाएकी छन्। दर्शना गन्धारी सेकेन्ड रनरअप भइ ५ लाख रुपैयाँ जितिन्। चौथो स्थानमा रहेका अभिनय खाती र पाँचौँ स्थानमा रहेका मृनल मानन्धरले जनही १ लाख रुपैयाँ प्राप्त गरे।
ग्रान्ड फिनालेमा गंगा सोनाम, बबिता थापा मगर, दर्शना गन्धारी, अभिनय खाती र मृनल मानन्धरबीच कडा प्रतिस्पर्धा भएको थियो। पाँचै प्रतियोगीले उत्कृष्ट प्रस्तुति दिएका थिए।
यस सिजनका निर्णायकहरू न्ह्युँ बज्राचार्य, कल्पना दाहाल, शम्भुजित बाँस्कोटा र इन्दिरा जोशीले प्रतियोगीहरूको यात्रा र मेहनतको प्रशंसा गर्दै सोनामलाई योग्य विजेता भएको टिप्पणी गरे। सोनामको मौलिकता र आत्मविश्वास जितको आधार बनेको छ । उपाधिपछि गंगाले आफ्ना समर्थक र शुभेच्छुकलाई धन्यवाद दिएकी छन् । उनले उपाधि गाउँ र जिल्लाको समेत गौरव भएको सुनाइन् । सोनामको विजयसँगै नेपाल आइडल सिजन–६ को यात्रा समापन भएको छ। गंगाको सफलता ग्रामीण क्षेत्रका प्रतिभाले राष्ट्रिय स्तरमा पनि उत्कृष्ट परिणाम दिन सक्ने प्रमाण बनेको छ ।

