

१६ भदौ — एजेन्सी । अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति गएको ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी कम्तिमा ६ सय १० जनाको ज्यान गएको छ । तालिबान सरकारका अनुसार साे विपद्मा १ हजार ३ सयभन्दा बढी घाइते भएका छन्।
तालिबानको गृहमन्त्रालयका अनुसार नांगरहार र कुनार प्रान्त केन्द्रबिन्दु बनेको उक्त भूकम्प स्थानीय समयअनुसार राति ११:४७ मा गएको हो। भूकम्पको गहिराइ ८ किलोमिटर मापन गरिएको छ। पहिलो भूकम्पपछि आएका निरन्तरका पराकम्पले थप क्षति पुर्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पका झट्का राजधानी काबुलदेखि पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस गरिएको थियो।
सबैभन्दा बढी क्षति कुनार प्रान्तमा भएको बताइएको छ। करिब ९० प्रतिशत भूभाग पहाडी भएको यस क्षेत्रमा आवतजावतका बाटो साँघुरो रहेको र थुप्रै ठाउँमा भूस्खलनका कारण अवरुद्ध भएको छ। यसले उद्धार कार्यमा कठिनाइ थपिएको छ।तालिबानका अधिकारीहरुले सीमित स्रोत साधनका कारण आफैंले उद्धार तथा राहत कार्य सम्भव नभएको जनाउँदै अन्तर्राष्ट्रिय समुदायसँग तत्काल सहयोगका लागि अपिल गरेका छन्।

