पहिरोले अबरुद्ध सडक खोल्न सांसद आफैं फिल्डमा

हालैको अबिरल वर्षाका कारण बलेफी गाउँपालिका–१ दोबाटेमा आएको पहिरोले अबरुद्ध बनेको वैकल्पिक राष्ट्रिय राजमार्ग (बलेफी–जलविरे–तेम्बाथान सडक) खुलाउन प्रतिनिधि सभा सदस्य माधव सापकोटा (सुबोध) आइतबार प्राविधिक टोलीसहित फिल्डमा पुगेका छन्।

१६ भदौ, सिन्धुपाल्चोक । हालैको अबिरल वर्षाका कारण बलेफी गाउँपालिका–१ दोबाटेमा आएको पहिरोले अबरुद्ध बनेको वैकल्पिक राष्ट्रिय राजमार्ग (बलेफी–जलविरे–तेम्बाथान सडक) खुलाउन प्रतिनिधि सभा सदस्य माधव सापकोटा (सुबोध) आइतबार प्राविधिक टोलीसहित फिल्डमा पुगेका छन्।

भदौ १३ गतेको वर्षाले जलविरे–ढाँडे सडकखण्डको बीचमा पर्ने दोबाटे क्षेत्रमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको थियो। सडक अवरोधका कारण सिंगो क्षेत्रको यातायात प्रभावित भएपछि सांसद सापकोटा सम्बद्ध कार्यालयका अधिकारी, पूर्वाधार विकास कार्यालयका प्रमुख, प्राविधिक, स्थानीय जनप्रतिनिधि तथा नागरिकसहित स्थलगत अनुगमनमा निस्किएका हुन्।

स्थलगत अवलोकनपछि भएको छलफलमा तत्काल अस्थायी वैकल्पिक बाटोमार्फत आवागमन सञ्चालन गर्ने र प्रभावित वस्तीको संरक्षणका लागि आवश्यक कार्य थाल्ने सहमति गरिएको छ। साथै दीर्घकालीन रुपमा सडक सुरक्षित गर्ने गरी आवश्यक योजना तयार गरेर अघि बढाउने निर्णयसमेत भएको सापकोटाले जानकारी दिएका छन्।

ब्रम्हायणी नदी करिडोरमा रहेको यो सडकलाई स्थानीयले जीवन रेखा सरह मान्ने गरेका छन्। यसमार्फत जुगल गाउँपालिका, बलेफी गाउँपालिकाका १ देखि ५ नम्बर वडासहित चौतारासाँगाचोकगढी नगरपालिकाका २, ३ र ४ नम्बर वडाका बासिन्दा नियमित रुपमा आवतजावत गर्ने गर्छन्। यो सडक जुगल गाउँपालिकामा रहेको जुगल हिमालको आधार शिविर पुग्ने एकमात्र सडक हो ।

प्रतिक्रिया