जनयुद्धमा महिलाले देखाएको त्यागबिना गणतन्त्र सम्भव थिएन : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा महिलाले देखाएको त्याग र बलिदानबिना गणतन्त्र सम्भव हुने नै नभएको बताएका छन्।

१९ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा महिलाले देखाएको त्याग र बलिदानबिना गणतन्त्र सम्भव हुने नै नभएको बताएका छन्। उनले बुधबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन्।

प्रज्ञाभवन, कमलादीमा आयोजित कार्यक्रममा प्रचण्डले महिला हिंसाविरुद्ध आवाज उठाउँदै समाजवादी आन्दोलनलाई तीव्र बनाउन सम्मेलनले संकल्प पारित गर्ने विश्वास व्यक्त गरे। उनले माओवादी जनयुद्धमा महिलाको उल्लेखनीय योगदान स्मरण गर्दै भने, “हजारौं, लाखौं महिलाको सहभागिता नभएको भए आजको संविधान, गणतन्त्र र महिलाको ३३ प्रतिशत सहभागिता सम्भव हुने थिएन।”

उनले जनयुद्धको सुरुआतमा कालिकोट र रोल्पाकी महिलाले देखाएको साहसलाई विशेष रूपमा उल्लेख गरे। “यदि उनीहरूले हतियार खोसेर पार्टी नेतृत्वलाई अगाडि बढ नभनेका भए जनयुद्ध सम्भव नहुन सक्थ्यो,” उनले महिलाको त्याग र बलिदानलाई निर्णायक मोडको रूपमा प्रस्तुत गरे।

प्रचण्डले गणतन्त्रविरुद्ध भइरहेका सडयन्त्रबारे चिन्ता व्यक्त गर्दै सबैलाई एकताबद्ध हुन आग्रह गरे। उनले भने, “संविधान सम्झौताका आधारमा बने पनि अहिले उपलब्धिहरू उल्टिने खतरा बढेको छ। हामीले बनाएको संविधान कार्यान्वयनतर्फ होइन, प्रतिगमनतर्फ धकेलिने खतरा छ।”

देशमा स्थिरता र सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकतामाथि उनले फेरि जोड दिए। “१० वर्षअघि नै हामीले जननिर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता औंल्याएका थियौं। अहिले त्यसको आवश्यकता झन् बढी महसुस भइरहेको छ,” उनको भनाइ थियो।

हालको सत्ता नेताहरूको नभई बिचौलियाको नियन्त्रणमा रहेको आरोप लगाउँदै उनले भने, “आजको सत्ता नेताको होइन, बिचौलियाको सेटिङ हो। करोडौं खर्च गरेर गठबन्धन बनाइएका छन्, जुन बिचौलियाका होटल र घरभित्रै तय भएको हो।” भ्रष्टाचार र बिचौलिया संस्कृतिविरुद्ध सरकारमा हुँदा अभियान चलाएको कारण सत्ता छाड्नुपरेको उनले खुलासा गरे र त्यसविरुद्ध जनताको साथ आवश्यक रहेको बताए।

उनले अबको आन्दोलन वैज्ञानिक समाजवाद स्थापनाका लागि हुने स्पष्ट पार्दै विचार मिल्ने सबै इमान्दार शक्तिलाई एकजुट हुन आह्वान गरे। “महिलाको अधिकारका लागि हाम्रो पार्टी पूर्ण प्रतिबद्ध छ। समाजवादी आन्दोलनका लागि मिल्न सक्ने सबैसँग एकता आवश्यक छ,” उनले भने। प्रचण्डले आगामी सम्मेलनलाई ‘एकताको आठौं महाधिवेशन’ बनाउनुपर्ने लक्ष्य अघि सारे।

प्रतिक्रिया