चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी मंगलबार स्वदेश फर्किएका छन्।

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी मंगलबार स्वदेश फर्किएका छन्। उनी चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भदौ १४ देखि १८ गतेसम्म चीन भ्रमणमा गएका थिए।

उनी चीनको थियानजिनमा आयोजित साङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी भएका थिए। उक्त सम्मेलनमा २४ मुलुकका राष्ट्र तथा सरकार प्रमुख उपस्थित थिए। प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै बहुपक्षीयताको सुदृढीकरण, क्षेत्रीय सहकार्यको प्रवर्द्धन र दिगो विकासमा नेपालको दृष्टिकोण प्रस्तुत गरेका थिए। नेपाल केवल संवाद साझेदार मात्र नभई पूर्ण सदस्य बन्ने आकांक्षा बोकेको उनले स्पष्ट पारे।

थियानजिनमा उनले राष्ट्रपति सी चिनफिङसँग भेटघाट गर्दै दुई देशबीचको दीर्घकालीन सम्बन्ध, सहयोगका प्राथमिकता र भविष्यका परियोजनाबारे छलफल गरेका थिए। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाको छिटो कार्यान्वयन, मल र पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु परिवर्तन सामना गर्ने क्षमता अभिवृद्धि तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोगको अपेक्षा उनले चीनसँग व्यक्त गरेका थिए। साथै, भारत–चीनबीच लिपुलेकमार्फत सीमा व्यापार गर्ने हालैको समझदारीप्रति असन्तोष व्यक्त गर्दै त्यसलाई कार्यान्वयन नगर्न अनुरोध गरेका थिए।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालप्रति निरन्तर सहयोग गर्ने आश्वासन दिँदै “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षालाई पूरा गर्ने प्रक्रियामा चीन साथमा रहने बताएका थिए। उनले उच्च-गुणस्तरीय बीआरआई परियोजनामार्फत सहयोग निरन्तर रहने प्रतिबद्धता पनि दोहोर्याएका थिए।

भ्रमणको क्रममा उनी विभिन्न राष्ट्रका शीर्ष नेताहरूसँग पनि भेटघाटमा व्यस्त रहे। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा नेपाल–रूस सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा व्यापार, लगानी, शिक्षा र संस्कृतिमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो। लाओस, माल्दिभ्स, भियतनाम र कम्बोडियाका राष्ट्रप्रमुखहरूसँग भेटवार्तामा कृषि, पर्यटन, शिक्षा, संस्कृतिलगायत क्षेत्रमा सहयोग विस्तार र जलवायु परिवर्तनका चुनौती सामूहिक रूपमा सामना गर्नुपर्ने विषयमा सहमति जुटेको थियो।

थियानजिनमै उनी धानको पकेट क्षेत्र तथा चाउ एनलाई–डेंग यिङ्चाओ स्मारक संग्रहालय अवलोकनमा पनि सहभागी भएका थिए। त्यसपछि बेइजिङ पुगेर उनले उपराष्ट्रपति हान चङ्गसँग भेटघाट गरेका थिए। द्विपक्षीय भेटपछि उपराष्ट्रपतिले आयोजना गरेको रात्रिभोजमा उनी सहभागी भएका थिए। त्यहाँ उनले दोस्रो विश्वयुद्ध विजयको ८०औँ वार्षिकोत्सव कार्यक्रममा समेत उपस्थिति जनाएका थिए।

यस भ्रमणबाट नेपालले अन्तर्राष्ट्रिय जगतमा आफ्नो प्रतिष्ठा बढाउन उल्लेखनीय योगदान पाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। चीन सरकारले प्रदान गरेको न्यानो आतिथ्यका लागि सरकारले औपचारिक धन्यवाद व्यक्त गरेको छ।

प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, सांसद छबिलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राई, चीनका लागि राजदूत कृष्णप्रसाद ओलीसहित उच्चपदस्थ सरकारी कर्मचारी सहभागी भएका थिए।

प्रतिक्रिया