चीनको सैन्य शक्ति प्रदर्शन : विश्व राजनीति कहाँ मोडिँदैछ?

चीनकाे राजधानी बेइजिङमा आयोजित भव्य सैन्य परेडले चीनले आफ्नो आधुनिक सैन्य शक्ति पहिलो पटक खुला रूपमा प्रदर्शन गर्‍यो।

१९ भदौ, एजेन्सीको सहयाेगमा । चीनकाे राजधानी बेइजिङमा आयोजित भव्य सैन्य परेडले चीनले आफ्नो आधुनिक सैन्य शक्ति पहिलो पटक खुला रूपमा प्रदर्शन गर्‍यो। दोस्रो विश्वयुद्धमा जापानविरुद्धको विजयको ८०औँ वर्षगाँठको अवसरमा गरिएको यो कार्यक्रमलाई चीनले केवल इतिहास सम्झाउने अवसरका रूपमा मात्र होइन, भविष्यतर्फ सन्देश दिने शक्तिशाली माध्यमका रूपमा प्रयोग गर्‍यो। यस परेडमार्फत चीनले देखाएको क्षमताले विश्व राजनीति, विशेष गरी एशिया–प्रशान्त क्षेत्रमा शक्ति सन्तुलनको नयाँ बहसलाई जन्म दिएको छ।

परेडमा चीनले आठवटा नयाँ र अत्याधुनिक हतियार सार्वजनिक गर्‍यो। यसमा अन्तरमहादेशीय क्षेप्यास्त्रहरू (DF–६१, DF–३१BJ, DF–५C), पनडुब्बीमार्फत प्रहार गर्नसक्ने जेएल–३, हाइपरसोनिक क्षेप्यास्त्रहरू (DF–२६D, CJ–१०००), आधुनिक ट्यांक, अत्याधुनिक ड्रोन र पाँचौँ पुस्ताका लडाकु विमानहरू थिए। यी सबै हतियारले चीनलाई जमिन, समुद्र र आकाश तीनै क्षेत्रमा आक्रमण गर्न सक्ने ‘त्रिशंकु शक्ति’को रूपमा प्रस्तुत गरेका छन्, जसले उसलाई आणविक र परम्परागत दुवै खालको सैन्य क्षमता देखाउन सक्षम बनाएको छ।

चीनका अधिकारीहरूले यसलाई राष्ट्रिय गौरव र शान्तिको रक्षा गर्ने प्रतिबद्धताको रूपमा व्याख्या गरे। राष्ट्रपति सी चिनफिङले “समृद्ध चीन, सुरक्षित चीन” भन्ने नारा दिएका थिए। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको सामरिक साझेदारीलाई अझ बलियो बनाउने संकेत गरे भने उत्तर कोरियाका नेता किम जोङ–उनले यसलाई पश्चिमी प्रभावलाई चुनौती दिने अवसरको रूपमा स्वागत गरे। अमेरिकी मिडिया Washington Post र Reuters ले यसलाई चीनको सैन्य आधुनिकीकरण मात्र नभई स्पष्ट रणनीतिक सन्देशका रूपमा चित्रण गरे। युरोपेली विश्लेषकहरूले Guardian र Financial Times मार्फत चीनले multi polar world order को परिकल्पनालाई अगाडि सारेको मूल्याङ्कन गरे।

अन्तर्राष्ट्रिय मिडियाले चीनको आधुनिकीकरणलाई शक्ति सन्तुलनमा नयाँ अध्यायको रूपमा वर्णन गरेका छन्। Global Times जस्ता चिनियाँ माध्यमहरूले यसलाई शान्ति र सुरक्षा सुनिश्चित गर्ने चीनको इच्छासँग जोडेर प्रस्तुत गरे। चीनले आफ्नो सैन्य शक्ति देखाएर संवाद, सहयोग र बहुध्रुवीय विश्वव्यवस्थाको पक्षमा उभिएको सन्देश दिएको देखिन्छ। यसले चीनलाई अन्तर्राष्ट्रिय कूटनीति र सुरक्षा संवादमा अझै प्रभावशाली बनाउने सम्भावना पनि छ।

तर आलोचकहरुले भने यसलाई क्षेत्रीय असन्तुलन बढाउने चेतावनीका रूपमा व्याख्या गरेका छन् । अमेरिकी र जापानी विश्लेषकहरूले यसले ताइवान र दक्षिण चीन सागरमा नयाँ तनाव बढाउने बताएका छन्। भारतमा पनि यसलाई क्षेत्रीय सुरक्षा चुनौतीका रूपमा विश्लेषण गरिएको छ, किनकि चीनको हतियार क्षमताले दक्षिण एशियाली भू–राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।

नेपालका लागि चीनको शक्ति प्रदर्शन प्रत्यक्ष सैन्य चुनौती होइन, तर यो क्षेत्रीय शक्ति–सन्तुलनमा ठूलो परिवर्तनको सूचक हो। भारत–चीन प्रतिद्वन्द्विता बढ्दा नेपालले आफ्नो कूटनीतिक नीति अझ सन्तुलित र सावधान ढंगले अघि बढाउनुपर्ने आवश्यकता बढ्नेछ। चीनले शान्तिको पक्षमा दिएको सन्देश नेपालजस्ता साना मुलुकका लागि अवसर पनि हुन सक्छ, किनभने बहुध्रुवीय विश्वमा मध्यस्थ, सन्तुलनकारी र साझेदारी खोज्ने मुलुकहरूको भूमिका अझ महत्वपुर्ण हुने अपेक्षा गर्न सकिन्छ।

समग्रमा हेर्दा, चीनको सैन्य शक्ति प्रदर्शन केवल औपचारिक परेड वा ऐतिहासिक स्मरण मात्र थिएन। यो अन्तर्राष्ट्रिय राजनीति र सुरक्षा परिदृश्यमा गहिरो सन्देश थियो। यसले मल्टि पोलार विश्वव्यवस्था, संवाद र सहयोगलाई सुदृढ गर्ने आशा जगाएको छ भने यसले एशिया–प्रशान्त क्षेत्रमा प्रतिस्पर्धा बढाउने सम्भावना पनि बोकेको छ। त्यसैले यो परेडलाई एकै साथ शक्ति प्रदर्शन, रणनीतिक चेतावनी र शान्तिको सन्देशका रूपमा व्याख्या गर्न सकिन्छ।

प्रतिक्रिया