

२३ भदौ, काठमाडौं । पहिलो कुरा : यही भदौ १९ गते सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेको खबर मैले छिमेकी देश चीनमा आयोजना हुने मिडिया सम्मेलनमा सहभागी हुन जहाज चढेपछि मात्रै सुनें। नेपाल पत्रकार महासंघका अध्यक्षसहित पाँच नेपाली पत्रकारहरू कुन्मिङमा हुने मिडिया र थिंकट्यांकहरूको भेलामा भाग लिन उड्नुअघि हामीले यो निर्णय सरकारले थेग्न सक्छ कि सक्दैन भनेर गम्भीर छलफल गरेका थियौं। नेपालमा फेसबुक, व्हाट्सएपजस्ता सञ्जाल नचल्ने र चीनमा यी पहिल्यै प्रतिबन्धित भएकाले देशका खबरहरू थाहा पाउन कठिन भयो। कार्यक्रमको व्यस्तताले पनि अपडेट लिन समय भएन। आज २३ गते बिहान नेपाली समयअनुसार ९ बजेको हाराहारीमा कुन्मिङ अन्तर्राष्ट्रिय विमानस्थलमा थियौं, नेपालको पछिल्लो खबरहरूबारे जानकारी लिन सकिएन। दिउँसो ३ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्नासाथ काठमाडौंमा कर्फ्यू लागेको खबर प्राप्त भयो।
पाँच, सात हुँदै १३ जना युवालाई सरकारी आदेशमा जेन-जीको अधिकार माग्ने आन्दोलनकारीमाथि बर्बर र कायरतापूर्ण हत्या भएको खबरले म स्तब्ध भएँ। कर्फ्यू छल्दै निवास पुगेपछि अपडेट हेरें। १८ जनाको मृत्यु भइसकेको खबरले झन् आश्चर्य लाग्यो। १९ जनाको मृत्यु र ३४७ जना घाइते भएको खबर छ । सरकार यति सजिलै नागरिकको हत्या गर्न उद्यत भएको नेपाली राजनीतिक इतिहासमा विरलै देखिएको छ। २०६२/६३ को आन्दोलनमा पनि यति छोटो समयमा यति धेरै मानिस मारिएका थिएनन्। आन्दोलनकारीहरूले फरक देश मागेका थिएनन्, न त सरकारको राजीनामा नै। उनीहरू सामाजिक सञ्जाल सञ्चालन र भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता मागिरहेका थिए। तर केपी ओली नेतृत्वको सरकार युवाहरुलाई ताकी ताकी गाेली दागीरहेको थियो । ८ सेप्टेम्बरमा भएको आन्दोलनका सबै सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली। तपाइहरुको शाहदतलाई नेपाली इतिहासमा ससम्मान स्मरण गरिने छ ।
दोस्रो कुरा : जेन-जी सामाजिक सञ्जाल र इन्टरनेटमा रमाउँछ, सृजना गर्छ, छलफल गर्छ। सरकारले सञ्जाल दर्ता गर्न समय तोक्दै प्रतिबन्ध लगाएको छ, तर वैकल्पिक प्लेटफर्मको व्यवस्था गरेको छैन। नेपालको आइटी क्षेत्रमा सक्षम युवापुस्ता छन्, तर नयाँ नेपाली प्लेटफर्म बनाउन कुनै आह्वान भएको सुनिएन। उल्टै, सरकारमा बसेका दलका नेताहरूले भिपिएन प्रयोग गरेर प्रतिबन्धित सञ्जालमा पोस्ट गरिरहेका छन्। आफ्नो प्लाटफर्म खोसिदा स्वभावैले युवा मन आन्दोलित छ ।
तेस्रो कुरा : गत जेठ-असारमा झापादेखि कञ्चनपुरसम्म ४६ जिल्लामा अध्ययन र अनुसन्धानका क्रममा मैले नागरिकहरूको चरम निराशा र आक्रोश भेटें। विराटनगर र पोखरामा त विस्फोटको स्थिति नजिक देखिएको थियो। यो कुरा मैले केही नेताहरू र साथीहरूसँग गरेको थिएँ। सामान्य बहानाले पनि आक्रोश भड्किन सक्छ भन्ने मेरो चिन्ता थियो। नभन्दै, सरकारको सामाजिक सञ्जालसम्बन्धी निर्णयले जेन-जीलाई सडकमा ल्यायो। आन्दोलनमा जेन-जीसँगै अन्य आक्रोशका आवाजहरू पनि मिसिएका छन्। उनीहरू को थिए भनिरहनु परोइन । उनीहरु नेपाली थिए, निरंकुशताका विरोधी थिए।
चौथो कुरा : सडकमा पोखिएको यो आक्रोश आरीघोप्टे वर्षात्पछिको बाढीजस्तै बनेको छ, जसलाई सामान्य पर्खालहरुले रोक्न सक्दैनन। मेरा एक मित्रको कक्षा आठमा पढ्ने छोराले आजको कक्षा छोडेर जेन-जी आन्दोलनमा सहभागी हुन चाहेका थिए, तर परिवारले रोके। मृत्युका खबरहरू सुनेपछि उनले खाना खाएका छैनन्। “हाम्रा दाइ-दिदीहरूलाई गोली हानिएको छ, म कसरी खान सक्छु?” भन्दैछन्। उनको भोलि सडकमा जाने चाहनाले परिवारमा तनाव बढेको छ। सहरैपिच्छे आन्दोलन छ, देशभर आक्रोश फैलिएको छ। जेन-जी साथीहरू रगतको मूल्य मागिरहेका छन्। आन युवापुस्ता निरंकुश देशमा बाँच्नुभन्दा देशका लागि मर्नु उचित ठान्छन्। शिक्षण संस्थाहरूले अनिश्चितकालीन बन्दको सूचना जारी गरेका छन्। अब के हुने हो, अन्योल र आक्रोशले ढाकिएको छ।
पाँचौं कुरा : सरकारले एक मन्त्रीको राजीनामा र छानबिन समितिको गठनले आन्दोलन मत्थर हुन्छ भन्ने सोचेको छ। हतियारले सत्ता जोगिन्छ भन्ने विश्वास विश्वका क्रूर शासकहरूको जस्तै यो सरकारको नेतृत्वमा पनि देखिन्छ। तर, जमिन नै बग्दा त्यसमाथिको घर सुरक्षित रहन्छ भन्ने सोच्नु मूर्खता हो। बगिसकेको थाहा नपाउनु निरंकुशको विशेषता हो ।

