

जनतामारा तानाशाहको अन्त्य आँखैअघि आइपुगेको छ। नेपालमा २०८१ असारमा देशमा दुई ठूला पार्टी मिलेर बनेको गठबन्धन सरकारले एकपछि अर्को भ्रष्ट कार्यले जनताको आक्रोशको सीमा नाघेर अन्ततः पोखिएको छ। हत्यारा निरङ्कुश तानाशाहलाई अन्धभक्त, स्वार्थी र लठैतहरूको सल्लाहमा हठी बनाइरहँदा अन्त्य नजिक आएको पनि थाहा छैन। ३६ सालमा कविता लेखेर ८२ मा व्याज खाने होइन, त्यो बेलाका कविता लेख्नेहरूको जोश र ऊर्जा त्यही बेलाको जस्तो हुनुपर्छ। तर, भएको छैन।
आक्रोश तब झन् बढ्छ, जब आफ्नो अभिव्यक्ति पोख्ने मञ्चमा प्रतिबन्धको विरोधमा सडकमा निस्केको जेन–जी अर्थात् युवा पुस्तालाई हत्यारो सरकारले आवाजको जवाफ गोलोले दिन्छ। साइकलमा हिँडेकालाई गोलीले ढालिन्छ, महिलालाई लछारपछार पारेर पेटमा बुटले हिर्काइन्छ, अस्पतालमा पसेर लाठीचार्ज गरिन्छ, अश्रुग्यास हानिन्छ। प्रदर्शनमा ताकेर टाउको र छातीमा गोली हानिन्छ, पत्रकारहरूलाई पनि ताकेर गोली प्रहार गरिन्छ।
हो, विश्व इतिहास हेर्ने हो भने पनि क्रूर तानाशाहहरूको अन्त्य यसैगरी भएको छ। उनीहरूलाई सत्ताको उन्मादले संसार आफ्नै लाग्छ, आफूले भनेको मात्रै सही लाग्छ, आफू मात्रै राष्ट्रभक्त र अरूलाई देशद्रोही देख्छन्। तर, वास्तविकता ठीक उल्टो हुन्छ। जब समय आउँछ, बलवान समयले तानाशाहहरूलाई यति निर्मम रूपमा बगाउँछ कि कसैले कल्पना पनि गर्न सक्दैन।
२०८२ भदौ २३ गतेको जेन–जीको आन्दोलनले श्रीलङ्का, बङ्गलादेश र इन्डोनेसियाको सम्झना गराइरहेको छ। विदेश ताक्ने, परनिर्भर र देशभक्ति नभएका भनेर गाली गरिएका युवाहरू सडकमा छन्। उनीहरू १९ जना साथीहरूको रगतको मूल्य मागिरहेका छन्। भदौ २४ गते सरकारले सुरक्षाकर्मीको हतियार देखाएर लगाएको कर्फ्युको प्रवाह नगरी काठमाडौं उपत्यका र देशभर आन्दोलनमा छन्। उनीहरूलाई नागरिक समाजले साथ दिएको छ। हत्यारा सरकारका पाल्तुहरूले आन्दोलनको दिशा परिवर्तन गर्न घुसपैठको प्रयास पनि गरेका छन्। तर, जब समुद्रको छाल आउँछ, खहरे छेक्न बनाइएका पर्खालहरू नामेट हुन्छन् वा बगेर माटोमा विलिन हुन्छन्।
छाल आइसकेको छ, युवाको छाल, यो आक्रोश, तानाशाहप्रतिको घृणा एक–दुई राजीनामाले रोकिनेवाला छैन। बरु, नेपाल आजसम्म किन गरिब छ? नेपाल आजसम्म किन अर्धदास छ? नेपाली जनताले तिरेका कर किन हराउँछन्? यहाँका मानिस किन सरकार आफैँ शरणार्थीको नाममा त कहिले भिजिट भिसाको नाममा बेचिन्छन्? यी प्रश्नको उत्तर नपाएसम्म यो आन्दोलन रोकिँदैन। यो दृश्य प्रष्ट छ, नजिक छ, तानाशाहको अन्त्य आँखैअघि नजिक छ।
२४ भदौ, काठमाडौं

