नेपाली इतिहासमा २०८२ भदौ २३, २४ र २५

२०८२ भदौ १२ गते सरकारले दर्ता नभएका प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप जस्ता लोकप्रिय माध्यम बन्द गर्ने निर्णय गर्‍यो। यसलाई युवाले अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण माने। यसैको परिणामस्वरूप, भदौ २३ मा ठूलो प्रदर्शन सुरु भयो।

नेपालको राजनीतिक इतिहासमा आन्दोलन, विद्रोह र क्रान्तिहरूले निर्णायक भूमिका खेलेका छन्। २०४६ सालको बहुदलीय आन्दोलन, २०५२ को माओवादी विद्रोह, २०६२/६३ सालको १९ दिने जनआन्दोलन, २०७२ सालको संविधानसभा–२ बाट संविधान जारी भएका घटनाले मुलुकलाई नयाँ मोड दिएका थिए।

२०८२ सालको भदौ महिनामा, जेन जी पुस्ता (१९९७–२०१२ बीच जन्मेका) ले नेतृत्व गरेको आन्दोलनले फेरि एकपटक नेपाली राजनीति हल्लाइदियो। यो आन्दोलन केवल सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आक्रोश मात्र थिएन, यसले दशकौँदेखि सिँचित हुँदै आएको भ्रष्टाचार, नातावाद, अवसरवादी राजनीति र असमानताप्रतिको असन्तुष्टि लाई सडकमा ल्यायो।

जेन जी आन्दोलनको जन्म यो आन्दोलन आकस्मिक थिएन। २०८२ भदौ १२ गते सरकारले दर्ता नभएका प्लेटफर्महरू—फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप जस्ता लोकप्रिय माध्यम बन्द गर्ने निर्णय गर्‍यो। यसअघि टिकटकमा प्रतिबन्ध (२०८० कात्तिक), टेलिग्राममाथि कारबाही (२०८१ असार) भइसकेको थियो। यसलाई युवाले अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण माने। राजनीतिक नेताहरूले आफ्ना सन्तानहरूलाई अवसर दिने प्रवृत्तिले युवामा आक्रोश थप्यो। ‘नेपो बेबी’ भन्ने अभियान सामाजिक सञ्जालमा भाइरल बन्यो। युवाहरू रेडिट, डिस्कर्ड, टेलिग्राम र टिकटकमार्फत संगठित भए। “यो हाम्रो पालो हो” भन्ने नाराले उनीहरू सडकमा ओर्लने तयारीमा पुगे। यसैको परिणामस्वरूप, भदौ २३ मा ठूलो प्रदर्शन सुरु भयो।

भदौ २३, २०८२ – शान्तिपूर्ण विद्रोह र प्रहरीको गोली

भदौ २३ (सोमबार, ८ सेप्टेम्बर २०२५) बिहानै माइतीघर मण्डलामा युवाहरू जम्मा भए। मागहरू स्पष्ट थिए। सामाजिक सञ्जाल खोल्नुपर्‍यो। भ्रष्टाचार र नातावाद अन्त्य गर्नुपर्‍यो। पारदर्शिता र जवाफदेही सुनिश्चित गर्नुपर्‍यो। तर प्रदर्शन अघि बढ्दै जाँदा संसद् भवनतर्फ भिडले धकेल्दा स्थिति तनावपूर्ण बन्यो।

राज्यको दमन पहिले अश्रुग्यास, पानीको फोहरा, रबर गोली प्रयोग गरियो। तर दिउँसोसम्म नियन्त्रण गुम्दा इन्सास र एसएलआर जस्ता घातक हतियार प्रयोग भए। यसै दिन कम्तीमा १९ जनाको मृत्यु भयो । काठमाडौँमा १४, इटहरीमा २, दमकमा १, अन्यत्र थप २ मारिए । ३४७ भन्दा बढी घाइते भए। दिउँसो १२:३० बजेदेखि काठमाडौँ, वीरगञ्ज, भैरहवा, बुटवल, पोखरा, इटहरी र दमकमा कर्फ्यु लागू भयो। सरकारले दबाबका बीच सामाजिक सञ्जाल प्रतिबन्ध हटाउने घोषणा गर्‍यो, गृहमन्त्री रमेश लेखकले राजीनामा दिए। तर सडकमा उर्लिएको जनआक्रोशलाई यसले शान्त पार्न सकेन। यो दिनलाई इतिहासले “रगतको सोमबार” भनेर सम्झनेछ।

भदौ २४, २०८२ – विध्वंसको दिन

अर्को दिन आन्दोलन अझै व्यापक भयो। कर्फ्यु तोडेर आन्दोलन लाखौँ मानिस काठमाडौँमा उत्रिए। केवल जेन जी मात्र होइन, मजदुर, विद्यार्थी, बेरोजगार र असन्तुष्ट सर्वसाधारण समेत सहभागी भए। राजावादी र रास्वापा पनि । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, शीतल निवास वालुवाटार राष्ट्र बैंक, भाटभटेनीका पसलहरू, नेताहरूका निवासहरू सबै आक्रमणको लक्ष्य बने। प्रधानमन्त्री केपी शर्मा ओलीको घर जलाइयो। शेरबहादुर देउवाको निवासमा उनी र उनकी पत्नीमाथि आक्रमण भयो। प्रचण्डको खुमलटार घरमा तोडफोड र आगजनी भयो।

दिउँसो प्रधानमन्त्री ओलीले राजीनामा घोषणा गरे र हेलिकप्टरमार्फत अज्ञात स्थानतर्फ लागे। देउवा र प्रचण्ड पनि अज्ञातस्थलमा पुगेर मौन बसे। यसले सत्ता खाली भयो। राति १० बजेदेखि सेना देशव्यापी रूपमा परिचालित भयो। सैनिक ट्यांक र बख्तरबन्द गाडी काठमाडौँको सडकमा देखिए। यो दिनको हिंसा केवल आक्रोशको विस्फोट थिएन, यसमा घुसपैठ र अवसरवादी तत्त्वहरूको भूमिका पनि देखियो। धेरै थोक भयो ।

भदौ २५, २०८२ अन्यौल र अन्तरिम सरकारको खोजी

भदौ २५ (बुधबार, १० सेप्टेम्बर २०२५) बिहानैदेखि देश अन्यौलमा थियो। नेतृत्वको संकट जेन जी पुस्ताले वार्ताका लागि प्रतिनिधि चयन गर्न सकेनन्। सडकमा पनि थिए, तर ‘कसले नेतृत्व गर्ने?’ भन्ने प्रश्नले आन्दोलनलाई कमजोर बनायो। सेना प्रमुख अशोक राज सिग्देलले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई आफ्नै कार्यालयमा भेटे। यसले युवामा अविश्वास थप्यो। सेनाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि संवाद गर्ने संकेत दियो। युवाहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन प्रस्ताव गरे। हर्क साम्पाङ, कुलमान घिसिङ जस्ता नामहरू पनि अघि सारिए। तर सर्वसम्मति जुटेन। यो दिन देश राजनीतिक दिशाहीनता मा डुबेको थियो।

मिडियाको भूमिका

यी तीन दिनमा मिडियाको प्रभाव निर्णायक रह्यो। परम्परागत मिडिया टेलिभिजन, रेडियो र पत्रिकाले घटनाक्रमलाई प्रत्यक्ष प्रसारण गरे। तर प्रारम्भिक अवस्थामा उनीहरू सरकारी नियन्त्रणमा झुकेको आलोचना भयो।

सामाजिक सञ्जाल TikTok, Facebook Live, Twitter (X) बाट प्रत्यक्ष दृश्यहरू फैलिँदा आन्दोलनलाई अन्तर्राष्ट्रिय ध्यान मिल्यो। युवाहरू आफैं ‘नागरिक पत्रकार’ बने।  बीबीसी, अलजजिरा, सीएनएनले “Nepal’s Gen Z Uprising” शीर्षकमा प्रमुख समाचार बनाए। अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गर्‍यो।

ऐतिहासिक महत्त्व यी तीन दिनले नेपाललाई नयाँ यथार्थ सामना गर्न बाध्य पारे। पुराना नेताहरूको घरमै आगजनी हुनु जनताको असन्तुष्टिको चरम अभिव्यक्ति हो। १९ जनाको बलिदानले लोकतन्त्र र तानाशाहीबीचको सीमालाई पुनः प्रश्नचिह्न लगायो। सुशीला कार्की, कुलमान घिसिङ, हर्क साम्पाङ जस्ता नामहरूको उठान पुराना दलहरूको विकल्प खोजी हो।

२०८२ भदौ २३, २४ र २५ यी तीन दिनले नेपाली राजनीतिमा गहिरो छाप छोडे। यस आन्दोलनले युवाको शक्तिलाई प्रमाणित गर्‍यो, तर नेतृत्व र संगठनको कमी देखायो। यसले पुराना दलप्रति अविश्वास प्रकट गर्‍यो, तर नयाँ संरचनाको खाका अझै बनेको छैन। इतिहासमा यी दिनलाई सम्झिँदा, यी केवल आक्रोशका दिन मात्र होइनन्, नयाँ नेपाल बनाउने सम्भावनाका दिन पनि हुन्।

प्रतिक्रिया