

३० असोज, काठमाडौं । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी दुई वर्षका लागि डोल्मा तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा काठमाडौंमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।
अधिवेशनबाट अध्यक्षमा डोल्मा तामाङ, उपाध्यक्षमा गोपाल थापा मगर, महासचिवमा कुन्दा शर्मा, सचिवमा चारिमाया तामाङ, कोषाध्यक्षमा प्रमोद कुमार आचार्य र सदस्यहरूमा मीना पौडेल, अम्बिका के.सी., पुष्प भुषाल, भीम घिमिरे, गीता कुमारी परियार, रामकृष्ण राय, तुम्बुरु गौतम र माधव प्रसाद पौडेल चयन भएका छन्। त्यसैगरी लेखा समिति पनि गठन गरिएको छ, जसमा संयोजक प्रमेश बादे र सदस्यहरू मनिराम देवल तथा दीपन कुमारी पुन रहेका छन्।
सातै प्रदेशका २२ सदस्य संस्थाको सहभागिता रहेको सभामा आर्थिक वर्ष २०८१/८२ को आर्थिक तथा प्रगतिविवरण प्रस्तुत गरिएको थियो। साथै, संस्थाका नीतिगत सुधार, आगामी कार्यक्रमका प्राथमिकता निर्धारण, जेन-जि आन्दोलन र प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो।
साधारण सभा तथा अधिवेशनले सञ्जालको विगतका उपलब्धि र चुनौतीहरूको समीक्षा गर्दै सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई थप सुदृढ र प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।

